पटक–पटकको चेतावनीपछि चितवन प्रशासनको कडा कदम, बासी र सडेगलेका परिकार बेच्ने मिष्ठान्न भण्डार बन्द

एटुजेड समाचार

चितवन — भरतपुर महानगरपालिका–१० स्थित शिव शम्भु मिष्ठान्न भण्डारलाई उपभोक्तालाई बासी तथा सडेगलेका खाद्य पदार्थ बिक्री गरेको पाइएपछि प्रशासनले बन्द गराएको छ।

भरतपुर महानगरपालिकाको बजार अनुगमन टोलीले यसअघि अनुगमनका क्रममा उक्त मिष्ठान्न भण्डारलाई जरिवाना गर्दै सुधारका लागि निर्देशन दिएको थियो। साथै पटक–पटक मौखिक रूपमा सावधानी अपनाउन, खाद्य स्वच्छता कायम गर्न तथा उपभोक्ताको स्वास्थ्यप्रति जिम्मेवार बन्न आग्रह गरिएको थियो।

तर, महानगरपालिकाको निर्देशन र चेतावनीलाई बेवास्ता गर्दै व्यवसाय सञ्चालन गरिरहेको तथा उपभोक्तालाई बासी, सडेगलेका खाजा तथा खाना बिक्री वितरण गरिरहेको गुनासो निरन्तर आएपछि सोमबार प्रमुख जिल्ला अधिकारीसहितको संयुक्त अनुगमन टोलीले आकस्मिक निरीक्षण गरेको थियो।

अनुगमनका क्रममा पुनः खाद्य स्वच्छता सम्बन्धी गम्भीर लापरबाही भेटिएपछि उपभोक्ता हित तथा सार्वजनिक स्वास्थ्यलाई ध्यानमा राख्दै शिव शम्भु मिष्ठान्न भण्डार तत्कालका लागि बन्द गराइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

अनुगमन टोलीले खाद्य व्यवसाय सञ्चालन गर्ने सबै व्यवसायीलाई गुणस्तरीय, स्वच्छ र सुरक्षित खाद्य पदार्थ मात्र बिक्री वितरण गर्न आग्रह गर्दै नियम विपरीत कार्य गर्ने व्यवसायमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु