पाँचथरमा बाढीले तीन घर बगायो, जलविद्युत् आयोजनामा क्षति

एटुजेड समाचार

पाँचथरअविरल वर्षाका कारण आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ।

शुक्रबार रातिदेखि परेको भीषण वर्षाले तमोर र दोभाने खोलामा पानीको बहाव बढाउनुका साथै पहाडी क्षेत्रमा पहिरो खस्दा स्थानीय जनजीवन अस्तव्यस्त बनेको छ।

बाढी–पहिरोले दर्जनौँ भौतिक संरचनामा क्षति पुर्‍याएको छ भने सञ्चार सम्पर्क विच्छेद हुँदा उद्धार र राहत कार्यमा समेत कठिनाइ भइरहेको छ।

प्राकृतिक विपत्तिले याङवरक–१, लाम्बा खोलाका तीन परिवारको घर पूर्ण रूपमा बगाएको छ।

मोहनलाल खवास, कविर खवास र गंगाप्रसाद बेघाको दुई तले घरहरू पहिरोले बगाएपछि उनीहरू घरबारविहीन बनेका छन्।

Forbes

घटनामा परी तीनै परिवारका १३ जना सदस्य विस्थापित भई हाल छिमेकीको घरमा आश्रय लिन बाध्य भएका छन्। कविर खवासको गोठमा रहेका तीन वटा गोरुसमेत बाढीले बगाएको छ।

यसका साथै, बाढीले पाँचथर र तेह्रथुमलाई जोड्ने निर्माणाधीन पक्की मोटरएबल पुल बगाएको छ भने याङवरक गाउँपालिकामा सञ्चालित हाइड्रोपावरका संरचनाहरूमा समेत क्षति पुगेको छ।

विभिन्न खोलानालामा रहेका झोलुङ्गे तथा पक्की पुलहरूमा क्षति पुग्दा स्थानीय आवतजावत ठप्प भएको छ। मध्यपहाडी राजमार्गको च्याङथापु–थर्पु खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेको छ।

बाढी–पहिरोपछि उक्त क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुँदा क्षतिको पूर्ण विवरण संकलन गर्न कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिशकुमार कर्णले जानकारी दिएका छन्।

बाढी र पहिरोले याङवरक–२ मेवाखोलामा रहेको हरिहृदुलय मेवाखोला जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। पाँचथर–ताप्लेजुङ सीमामा अवस्थित इंवाखोलामा रहेको इंवाखोला जलविद्युत् आयोजनाको बाँध क्षेत्रका पर्खालमा क्षति पुगेको छ । यस्तै पाँचथर–ताप्लेजुङ सीमामा अवस्थित काबेली खोला रहेको अरुण काबेली जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ ।

यस्तै याङवरक–४ सिगेवामा स्थानीय लालबहादुर माबो, लक्ष्मण माबो, योगेन्द्र माबो र छविलाल पोखरेलको अलैँची बगान तथा खेतीयोग्य जमिनमा बाढी पसेर क्षति पुगेको छ। बाढी र पहिरोले टीकारामे, डल्लेढुङ्गा र सिगेवा खानेपानी योजना, वाराङ सिँचाइ योजना र मेची पहाडी खानेपानी योजनामा समेत क्षति पुर्याएको प्रहरी नायब उपरीक्षक कर्णले जानकारी दिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु