काठमाडौं – नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव रहेको छ।
यसैका कारण हाल देशभर साधारणतया बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर र रातिको मौसममा पनि यस्तै किसिमको मौसमी विविधता देखिनेछ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। मधेश प्रदेश लगायत अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने भए पनि तराईका बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ। यसैगरी मधेश, बागमती, गण्डकी प्रदेशका तराई क्षेत्र र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्नेछ।
देशका केही भागमा वर्षाको सम्भावना रहँदा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भूभागमा भने तातो दिन हुने तथा तराई क्षेत्रमा तातो लहर अर्थात् ‘लू’ चल्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरिएको छ। यस्तै मधेश र कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा हावाहुरी चल्ने सम्भावना छ।
आज रातिको समयमा पनि कोशी प्रदेश लगायत देशका बाँकी हिमाली भूभागमा साधारणतया बादल लागिरहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने भए पनि देशका अन्य पहाडी तथा तराई भूभागमा भने रातिको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
राति कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा वर्षाको सम्भावना कायम रहनेछ। यसैगरी लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको आकलन गरिएको छ।


