चितवन – बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले समस्याग्रस्त सहकारीका पीडितमध्ये जेष्ठ नागरिकलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको छ।
मन्त्री पौडेलले मंगलबार अनामनगरस्थित कार्यालयमै पुगेर बागमती प्रदेशका समस्याग्रस्त सहकारीहरूको अवस्थाबारे जानकारी लिँदै यस्तो निर्देशन दिनुभएको हो। सो अवसरमा उहाँले सहकारी पीडितका गुनासो सुन्नुका साथै मापदण्ड र प्राथमिकताका आधारमा बचतकर्ताको रकम फिर्ता गराउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो।
कार्यक्रममा बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद सिग्देल, सदस्यहरू नेत्रराज पौडेल, निशा न्यौपाने र रामेश्वर ढकाल लगायतको उपस्थिति रहेको थियो।
समितिका सदस्य सचिव प्रविण खनाल ले बागमती प्रदेशमा हालसम्म पाँच वटा सहकारीलाई समस्याग्रस्त सहकारीका रूपमा घोषणा गरिएको जानकारी दिनुभयो। ती सहकारीहरूको अवस्था मापदण्डका आधारमा अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ।
बचतकर्ताको रकम अपचलन तथा आर्थिक अनियमितता गर्ने सहकारी संस्थाहरूलाई बागमती प्रदेश सहकारी मन्त्रालयले समस्याग्रस्त सहकारीका रूपमा घोषणा गर्दै व्यवस्थापन प्रक्रिया अघि बढाइरहेको जनाएको छ।


