इरानको खार्ग टापुको सैन्य ठेगानामा अमेरिकाको हमला

एटुजेड समाचार

अमेरिकाले इरानको खार्ग टापु स्थित सैन्य ठेगानाहरूमा आक्रमण गरेको छ। तर, रातिको समयमा गरिएको आक्रमणमा इरानको तेल पूर्वाधारलाई भने निसाना नबनाइएको अमेरिकी अधिकारीहरूले बताएका छन्।

अमेरिकी समाचार संस्था सीबीएस न्युजसँग कुरा गर्दै एक अमेरिकी अधिकारीले खार्ग टापुका सैन्य अखडाहरूमा मात्रै आक्रमण भएको जानकारी दिएका हुन्। खार्ग टापुमा इरानको मुख्य आयल टर्मिनल रहेको छ। यसलाई इरानको अर्थतन्त्रको जीवनरेखा मानिन्छ।

हंगेरीको बुडापेस्टमा रहेका अमेरिकी नेता जेडी भान्सले खार्ग टापुका केही सैन्य ठेगानाहरूमा आक्रमण गर्ने योजनाबारे आफू जानकार रहेको बताएका छन्।

भान्सले यो आक्रमण राष्ट्रपति डोनाल्ड ट्रम्पको रणनीति अन्तर्गतकै निरन्तरता भएको सुनाए। होर्मुज जलडमरु खुला गर्ने विषयमा अमेरिकी समयअनुसार मंगलबार राति ८ बजेसम्म इरानले सम्झौता नगरे उसका सम्पूर्ण पूर्वाधार ध्वस्त पार्ने ट्रम्पको चेतावनीलाई भान्सले दोहोर्‍याएका छन्।

‘इरानले विश्वलाई सकेसम्म धेरै आर्थिक पीडा दिने प्रयास गरिरहेको छ,’ भान्सले भने, ‘तर, अमेरिकासँग इरानलाई त्योभन्दा कैयौं गुणा बढी पीडा दिन सक्ने क्षमता छ।’

Forbes

उनले तोकिएको समयसीमा भित्र इरानबाट जवाफ आउनेमा आफू विश्वस्त रहेको बताउँदै इरानले सही जवाफ दिने अपेक्षा राखेको उल्लेख गरे।

खार्ग टापुमा अमेरिकाले यसअघि गत मार्च महिनामा पनि आक्रमण गरेको थियो। त्यतिबेला राष्ट्रपति ट्रम्पले इरानका सैन्य ठेगानाहरू पूर्ण रूपमा ध्वस्त पारिएको दाबी गरेका थिए।

इरानको अधिकांश कच्चा तेल निर्यात हुने यो टापुलाई आफ्नो नियन्त्रणमा लिन अमेरिकी सेना पठाउन सक्नेसम्मको संकेत ट्रम्पले यसअघि नै गरिसकेका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु