विगतका वाचा पूरा नगर्दा मत माग्न आउनै सकेनन् उमेदवार

एटुजेड समाचार

फिदिम – सिंहापुर बजारदेखि भित्र छ, कुवापानी बस्ती । नजिकै रहेको अर्को गाउँको नाम हो फलाँटे । फलाँटे र कुवा पानीसहित हिलिहाङ १,२,३ र ४ नम्बर वडाका वस्तीमा पानीको चरम अभाव छ ।

यी बस्तीका एक हजार ५६२ घरधुरीका नागरिकलाई खानेपानी उपलब्ध गराउन २०७८ सालमा सम्झौता गरेर काम सुरु गरिएको तमोर लिफ्टिङ बृहद खानेपानी आयोजना उपभोक्ता समितिका पदाधिकारीको लापरबाहीले पूरा हुन सकेको छैन ।

खानेपानीको पूर्वाधार निर्माण गर्ने जिम्मा लिएको जीआरडी कन्ट्रक्सनले काम सकेर उपभोक्ता समितिलाई जिम्मा दिएको एकवर्ष पूरा भइसक्यो । यो अवधिसम्म यहाँका एक हजार ५६२ मध्ये करिब चार सय घरधुरीमा मात्रै पानी जोडिएको छ । पानी जोडे पनि ती धारामा पानी आउँदैन ।

खानेपानीका लागि स्थानीय दुईदेखि अढाई घण्टा धाएर गाग्री भर्नु पर्ने वाद्यतामा छन् । हिलिहाङको कुवापानी र फलाँटेसहित हिलिहाङका १,२,३ र ४ नम्बर वडाका नागरिकलाई पानी खुवाउन १५ करोड खर्चेर सम्पन्न गरिएको तमोर लिफ्टिङ खानेपानी आयोजना अन्तरगतका धारामा काम सकिएको डेढ वर्षसम्म पानी आएको छैन ।

त्यसअघि सञ्चालनमा रहेको पुरानो बृहद खानेपानी आयोजना अन्तर्गतका धारामा पनि पानी आउँदैन । दुवै आयोजना सञ्चालन नहुँदा स्थानीय काँधको भरमा गाग्रीमा पानी ओसारेरै भरथेग गरिरहेको छन् ।

Forbes

यो खानेपानी आयोजनाको उपभोक्ता समितिका पदाधिकारीले जिम्मेवारी अनुसारको काम गर्न नसम्दा यो अवस्था भएको हो । उपभोक्ता समितिका पदाधिकारीले जिम्मेवारी अनुसारको काम नगरेको स्थानीयको आरोप छ ।

यसअघि भएका प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रायः उमेदवार यी बस्ती पुगेर भोट मागेका थिए ।

“अधिकांशले खानेपानी समस्यालाई दीर्घकालीन समाधान गर्ने प्रतिवद्धता जनाउँदै निर्वाचन जिते । तर, जितिसकेपछि यो ठाउँमा फर्केर आएनन् । अघिल्लो पटकका वाचा पूरा गर्न नसकेका कारण पनि उनीहरूलाई यहाँ आउन अप्ठ्यारो परेको हो,” हिलिहाङ–१ कुवापानीकी फूलमाया तामाङले भनिन् ।

यहाँका नागरिकले पिउनका लागि मात्रै होइन, वस्तुभाउलाई खुवाउन र सरसफाई गर्न पनि पानी बोक्नुपर्छ ।

आशन्न प्रतिनिधिसभा निर्वाचनमा प्रचारप्रसार गर्ने अवधि केही घण्टा बाँकी रहँदासम्म जिल्लाका सुक्खाग्रस्त क्षेत्रमा उमेदवार मात्रै नभएर दलका प्रतिनिधि पनि आइपुगेका छैनन् । “कहिले आउलान भनेर बाटो कुरेर बसेका छौँ, हामी सबैको एकै स्वर छ, यसअघि पटक–पटक प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा जितेका दललाई किन वाचा पूरा गर्नु भएन भनेर प्रश्न गर्ने,” हिलिहाङ २ का रामकुमार श्रेष्ठले भने, “यसपटक आएका उमेदवारलाई पानी खुवाउँनका लागि वाचा कसम खुवाउने ।”

पाँचथरको हिलिहाङ, कुम्मायक र तुम्बेवा गाउँपालिकामा पानीको चरम अभाव छ । यसअघि हरेक निर्वाचनमा यस क्षेत्रमा खानेपानीको समस्या समाधान गर्ने उमेदवारका एजेन्डा बन्दै आएका थिए । यसपटक पनि अधिकांशले खानेपानी समस्या समाधानको विषयलाई आआफ्ना घोषणा र प्रतिवद्धता पत्रमा प्राथमिकतामै राखेका छन् ।

यद्यपि, सुक्खा क्षेत्रका नागरिक निर्वाचन सकिएलगत्तै ती मुद्दालाई उमेदवारले पानीको मुहानका किनारामै छोडिदेलान् कि भन्ने डर छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु