चितवन – नेपाल स्काउट अन्तर्गत रत्ननगरस्थित चितवन राइनो रोभर/रेन्जर क्र्युको आयोजनामा CRRRC तेस्रो स्काउट ग्राण्ड क्याम्प–२०८२ सञ्चालन हुने भएको छ। उक्त क्याम्प खैरहनी नगरपालिका–१३स्थित गवै माध्यमिक विद्यालयमा फागुन ६ गतेदेखि ८ गतेसम्म आयोजना गरिने आयोजकले जनाएको छ।
सो क्याम्पमा चितवन जिल्लाभित्रका विभिन्न विद्यालय तथा स्काउट समूहका रोभर/रेन्जर तथा स्काउट विद्यार्थीहरूको सहभागिता रहनेछ।स्काउटिङमार्फत अनुशासन, नेतृत्व विकास, आपसी सहकार्य र सामाजिक जिम्मेवारीको भावना विकास गर्ने उद्देश्यले क्याम्प आयोजना गरिएको हो।
क्याम्प अवधिभर साहसिक तथा सिर्जनात्मक गतिविधिहरू, जंगल सफारी, सुपरम्यान जम्प, ओमेगा जम्प, जीवन उपयोगी सीपसम्बन्धी सत्र, विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ। साथै, प्रत्येक सहभागी स्काउट इकाइले नेपाली मौलिक लोकगीतमा आधारित नृत्य प्रस्तुति समेत दिनुपर्ने व्यवस्था गरिएको छ।
आयोजकका अनुसार सो कार्यक्रम बिहान १० बजेदेखि सञ्चालन हुनेछ। सहभागीले स्काउट पोशाक, आवश्यक सामग्री, लेखन सामग्री तथा व्यक्तिगत प्रयोगका सामान अनिवार्य रूपमा ल्याउनुपर्नेछ।त्यस्तै,सो क्याम्पमा सहभागी हुनका लागि नाम दर्ता फागुन १ गतेसम्म गर्न सकिनेछ। क्याम्पका लागि प्रति स्काउट रु. १,८०० दर्ता शुल्क निर्धारण गरिएको छ।
फागुन ६ गतेको दिउँसोको खानादेखि फागुन ८ गते बिहानको खानासम्मको व्यवस्थापन आयोजकले गर्ने जनाएको छ।
कार्यक्रम सम्बन्धी थप जानकारीका लागि क्र्यु प्रमुख वैकुण्ठ मरहट्ठा तथा कार्यक्रम संयोजक स्काउटर राजु थापासँग सम्पर्क गर्न सकिने आयोजकले बताएको छ।


