काठमाडौं – हाल देशका विभिन्न भागमा भइरहेको लगातारको भारी वर्षा, बाढी, पहिरो, डुबान र भूक्षयको सम्भावनालाई मध्यनजर गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आम नागरिक, तीनै तहका सरकार तथा पार्टी कार्यकर्तालाई सतर्कता र सक्रियता अपनाउन विशेष अपील गरेका छन्।
मौसम पूर्वानुमान अनुसार आगामी दिनहरूमा देशका धेरै भूभागमा तीव्र वर्षाको सम्भावना रहेको भन्दै उनले जोखिम क्षेत्रका जनसमुदायलाई सावधानीपूर्वक सुरक्षित स्थानमा रहन अनुरोध गरे।
प्रधानमन्त्री प्रचण्डले भने,-“जोखिमजन्य क्षेत्रमा सबै जनसमुदायलाई आवश्यक सतर्कता र सावधानी अपनाउँदै सुरक्षित रहन अपील गर्दछु। साथै, तीनै तहका सरकारलाई तीव्र पूर्वतयारी र विपद् प्रतिकार्यमा सक्रिय हुन आग्रह गर्दछु।”
त्यस्तै, उनले आफ्नो पार्टीका सबै नेता तथा कार्यकर्ताहरूलाई विपद् प्रभावित क्षेत्रमा पुगेर जनताको सुरक्षाका लागि अग्रपङ्क्तिमा खटिन निर्देशन दिएका छन् ।
“हाम्रो पार्टीका सबै नेता तथा कार्यकर्ताहरुलाई जनतासँगै रहेर जोखिमविरुद्ध सक्रियतापूर्वक जुट्न निर्देशन दिन्छु,” उनले भने।
मौसम विज्ञान विभागले देशका केही स्थानहरूमा अत्यधिक वर्षा हुने सम्भावना रहेकाले बाढी र पहिरोको चेतावनी जारी गरिसकेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि जोखिम क्षेत्रका नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।


