चितवन – नेपालको ५९ आदिवासी जनजातिमध्ये चेपाङ समुदायले मनाउने विशेष पर्व हो, न्वांगी अर्थत् छोनाम। भदौ महिनाभर आफूअनुकूल मितिमा पूजाआजा गरेर मनाइने यो पर्व चेपाङ समुदायमा प्रकृतिप्रति आभार प्रकट गर्ने र नयाँ वर्षको स्वागत गर्ने मौलिक परम्परा हो।
यस वर्षको न्वांगी पर्वलाई विशेष बनाउन नेपाल चेपाङ संघको केन्द्रीय कार्यकारीणी समितिले चितवनमा आयोजना गर्दैछ। गतवर्ष गोरखामा भव्य कार्यक्रम गरेको संघले यसपटक भने इच्छाकामना गाउँपालिका कार्यकारीणी समितिको व्यवस्थापनमा इच्छाकामना ६, कालिखोलामा कार्यक्रम गर्न लागेको हो।
चेपाङ समुदायमा न्वांगी (छोनाम)लाई प्रकृतिप्रति कृतज्ञता प्रकट गर्ने चाडका रूपमा पनि लिइन्छ। काँक्रो, अमिलो, पिँडालु, गाभा, मकै, कागुनो, घैयाधानजस्ता नयाँ अन्नबालीलाई आफूले खानुभन्दा अघि चढाएर पितृलाई अर्पण गर्ने प्रचलन चेपाङ समुदायमा छ। पूजा सम्पन्न भएपछि मात्र ती अन्नबाली खाने प्रचलन भएअनुसार हरेक वर्ष भदौ महिनालाई चेपाङ समुदायले न्वांगीको रूपमा लिन थालेको पाइन्छ।
तर, मुख्य दिनको रूपमा भने भदौ २२ गतेलाई लिइएको हुँदा चेपाङ संघको केन्द्रीय समितिले भदौ २२ गते नै हरेक वर्ष फरकफरक जिल्लामा कार्यक्रम आयोजना गरेर पर्व मनाउँदै आएको चेपाङ संघका अध्यक्ष गोविन्दराम चेपाङले बताए। पर्वको धार्मिक एवम् सांस्कृतिक पक्ष मात्र नभई सामाजिक महत्त्व पनि उत्तिकै हरेको हुँदा यस दिन छरछिमेकी, आफन्त, नातागोता सबै जम्मा भएर सामूहिक प्रसाद खाने, नाचगान गर्ने र आपसी सद्भाव साट्ने परम्परासमेत जीवित छ।
गाउँघरमा पाण्दे (झाँक्री)हरूले रातभर ढ्याङग्रो ठोकेर देवता–पितृलाई खुसी पार्ने गर्दछन् भने युवापुस्ताले लोकदोहोरी, मौलिक नृत्य र गीत–संगीतमार्फत संस्कृति झल्काउने गरेका छन्। ‘हाम्रो समुदायमा पछिल्लो समय पाण्देको सङ्ख्यामा कमि आएको हुँदा पाण्देको संरक्षण एवम् प्रवर्द्धनको लागि पनि हामीले कार्यक्रमलाई विशेष बनाउन खोजेका छौँ,’ अध्यक्ष चेपाङले भने।
कार्यक्रममा विभिन्न आकर्षण तय गरिएका छन्। जिल्लागत लोकदोहोरी प्रतियोगिता, चेपाङ भेषभूषा तथा रैथाने खानाको प्रदर्शनी, मौलिक नृत्य–गीत प्रस्तुति, झाँक्रीबाट न्वांगी फलाक्ने, विद्यार्थीहरूद्वारा सांस्कृतिक प्रस्तुति, छेलो हान्ने र डोरी तान्ने प्रतियोगिताजस्ता गतिविधिहरूले पर्वलाई झन् रंगीन बनाउने संघका महासचिव सन्तबहादुर चेपाङले बताए। भदौ २१ गते घर–घरमा दीप प्रज्वलन गर्ने र २२ गते विशेष कार्यक्रम सञ्चान गरेर भावना आदानप्रदान गरिने उनले बताए।
वि.सं.२०६३ देखि नेपाल चेपाङ संघले भदौ २२ लाई औपचारिकरूपमा न्वांगीलाई राष्ट्रिय पर्व मान्दै आएको छ। सोहीअनुसार बागमती प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदासमेत दिने गरेको छ। सांस्कृतिक र सामाजिक मूल्य बोकेको यस पर्वमा सहभागी हुन चितवनमात्र नभई मकवानपुर, धादिङ, गोरखा, तनहुँ, लमजुङ, सर्लाहीलगायतका जिल्लाबाट समेत प्रतिनिधि र समुदाय चितवन आउने छन्।जनगणना २०७८ अनुसार ८४ हजार ३६४ जना चेपाङमध्ये सबैभन्दा धेरै चितवनमा बसोवास गर्ने गरका छन्।


