एडिलेड, अष्ट्रेलिया – नेपाली समुदायबीचको सांस्कृतिक ऐक्यबद्धता, महिला सशक्तीकरण, परम्पराको संरक्षण र सामाजिक एकतालाई अभिव्यक्त गर्ने महान पर्व हरितालिका तीज अब अष्ट्रेलियाको एडिलेड सहरमा पनि विशेष उत्सवका रूपमा मनाउन लागिएको छ। नेपाली पाठशालाको आयोजनामा ‘तीज फेस्टिभल २०२५’ अगस्ट ९ का दिन हेक्टरभिलमा सम्पन्न हुने भएको छ।
कार्यक्रमको स्थल St Joseph’s School – Function Hall, Hectorville मा साँझ ५ बजेदेखि ९ बजेसम्म तय गरिएको छ। निःशुल्क प्रवेश गरिने यो कार्यक्रम नेपाली गीत, नृत्य, परम्परागत दर र DJ प्रस्तुतिहरू सहित सांस्कृतिक र पारिवारिक रमाइलोको उत्सव बन्नेछ।
तीज नेपाली महिलाहरूका लागि आस्था, आत्मबल र सामाजिक एकताको पर्व हो। विशेषगरी शिव–पार्वतीको प्रेम, समर्पण र तपस्याको प्रतीक मानिने यो चाडमा महिलाहरूले भगवान् शिवको पूजा गरी आफ्नो परिवारको सुख, दीर्घायु, समृद्धिको कामना गर्छन्। दर खाने, रातभर भजन गाउने, नाचगान गर्ने र अघिल्लो दिन व्रत बस्ने परम्परा यस चाडमा समेटिएको हुन्छ।विदेशमा रहेका नेपालीहरूका लागि तीज सांस्कृतिक पुनःस्थापनाको एक अवसर पनि हो — जहाँ महिलाहरूले आफ्नो मौलिकता, पहिचान र सशक्त भूमिका व्यक्त गर्न पाउँछन्।
कार्यक्रमको विशेष आकर्षणका रूपमा नेपाली महिला तथा बालबालिकाहरूको तीज नृत्य, लोकगीत तथा DJ मा झुम्ने अवसर, र नेपाली परिकारसहितको तीज दर उपलब्ध हुने आयोजकले जानकारी दिएको छ। सांगीतिक प्रस्तुति मात्र नभई यो कार्यक्रम नेपालीपन, मौलिकता र आपसी एकता प्रवर्द्धन गर्ने थलो बन्नेछ।
कार्यक्रममा सहभागी हुने सबैलाई परिवारसहित रमाइलो गर्न र नेपालीपन महसुस गर्न उत्साहपूर्वक आमन्त्रण गरिएको छ। आयोजक अनुसार, कार्यक्रम केवल मनोरञ्जन होइन, नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने अवसर पनि हो।नेपाली पाठशालाको तर्फबाट सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई सांस्कृतिक झिल्कोमा सहभागी भइदिन अनुरोध गरेका छन्।
कार्यक्रम Cambelltown Council को सहयोग समेत रहेको छ भने अन्य थुप्रै नेपाली व्यवसायीहरूको पनि सहयोग रहेको छ। साँस्कृतिक र पारिवारिक मेलमिलापको त्यो अनमोल क्षण — जहाँ गीत छ, नाच छ, खाना छ, अनि मनभित्र गहिरो गर्व छ, नेपाली पहिचान र परम्पराको। ‘तीज फेस्टिभल २०२५’ केवल मनोरञ्जनको अवसर होइन, नेपाली महिलाहरूको शक्ति, एकता र सांस्कृतिक धरोहरको प्रदर्शन पनि हो।
त्यसैले, नेपाली पाठशालाद्वारा आयोजित यो तीज उत्सव सम्पूर्ण नेपाली समुदायको गौरवमय चाड बन्ने निश्चित छ।


