जगदम्बा स्टिलमा अचानक विस्फोट : एक जना घाइते, आगो नियन्त्रणमा

बारा – यहाँको जितपुरसिमरा उपमहानगरपालिका–२ मा अवस्थित जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ ।

इलाका प्रहरी कार्यालय सिमराका अनुसार राति करिब ९ः१५ बजे फलाम पगाल्ने क्रममा भट्टीमा अचानक विस्फोट भएको हो ।

घटनापछि नजिकै रहेको इलाका प्रहरी कार्यालय सिमराको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

विस्फोटको कारण र त्यसबाट भएको क्षतिको विवरण यकिन भइसकेको छैन । प्रहरी प्रवक्ता पण्डितले घटनास्थलको प्रारम्भिक अनुसन्धान भइरहेको बताए ।

उद्योग सञ्चालनमा रहेको समयमा विस्फोट भएको हुँदा सम्भावित मानवीय क्षतिको आशङ्का गरिए पनि  एक जना मात्र घाइते भएको जानकारी प्राप्त भएको जनाइएको छ ।

घाइते हुनेमा भारत विहारको सीतामडी निवासी ३५ वर्षीय अजय बैठा रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेद जोशीले जानकारी दिए ।

उनका अनुसार अपरेटरको काम गर्दै आएका बैठाको दाहिने हातमा चोट लागेको छ भने आगो नियन्त्रण आइसकेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु