चितवन – राज्यभित्रका योग्य शिक्षकलाई विदेश पलायन हुनबाट जोगाउन र गुणस्तरीय शिक्षा कायम गर्न संस्थागत विद्यालयहरू सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्नेमा जोड दिइएको छ ।
आज (शनिबार) प्याब्सन चितवनको आयोजनामा निजी तथा संस्थागत विद्यालयहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने उद्देश्यले पहल गर्न आयोजित कार्यक्रममा सो कुरामाथि जोड दिइएको हो ।



भरतपुर–७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको अडिटोरियम हलमा आयोजित कार्यक्रममा सामाजिक सुरक्षा कोषका केन्द्रीय कार्यकारणी निर्देशक कविराज अधिकारी र निर्देशक रोहित रेग्मीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै निर्देशकद्वयले शिक्षकहरूले योग्यताअनुरूपको सेवासुविधा पाउनुपर्ने र योग्य शिक्षकलाई देशमै रोकी पलायनता रोक्न संस्थागत विद्यालयहरू सामाजिक कोषमा आवद्ध हुन ढिलाइ गर्न नहुने बताए ।
कार्यकारी निर्देशक अधिकारी र निर्देशक रेग्मीले कार्यक्रममा सहजीकरण गरेका थिए ।



प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै भने, ‘योग्य शिक्षकलाई देशमै रोक्न सम्पूर्ण निजी तथा संस्थागत विद्यालयहरू सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुको विकल्प छैन ।’ ‘अवकाशपछिको सुरक्षित जीवनका लागि सामाजिक सुरक्षा कोषले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले अब पालिकास्तरमै छलफल गरी सबै सामुदायिक विद्यालय सामाजिक सुरक्षा कोषमा आवद्ध हुन अग्रसर हुनुपर्छ,’ उनले भने ।
चितवनका संस्थागत विद्यालयहरूका १४० जना प्रधानाध्यापकहरूको सहभागिता रहेको कार्यक्रममा स्वागत अङ्कुरम् एकेडेमीका प्राचार्य सुमन पौडेलले गरेका थिए । प्याब्सन चितवनका सचिव दयानिधि अर्यालले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष मदन पुरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।