चितवन – चितवन मेडिकल कलेजको दन्त विज्ञान विद्यालयको जनशक्ति र प्राविधिक सहयोगमा भरतपुरस्थित लोटस एकेडेमीमा अध्ययनरत ५५५ जना विद्यार्थीहरुको दन्त परीक्षण शिविर सम्पन्न भएको छ।
शिविरको अध्यक्षता लोटस एकेडेमीका प्राचार्य श्री गोपिलाल श्रेष्ठज्यूले गर्नुभएको थियो भने शिक्षक अभिभावक संघका अध्यक्ष श्री गोपिकृष्ण मरासिनी ज्युले प्रमुख अतिथिका रुपमा सहभागिता जनाउनुभयो। चितवन मेडिकल कलेजका दन्त चिकित्सक डा. आज्ञा प्रधानाङ्गको नेतृत्वमा रहेको ६ सदस्यीय दन्त चिकित्सक टोलीले विद्यार्थीहरुको दन्त परीक्षण गरी उनीहरुको मौखिक स्वास्थ्यको मूल्यांकन गरेको थियो।
कार्यक्रममा सह-प्राचार्य श्री दीपक गुरुङ, जनसम्पर्क अधिकृत श्री मुकुन्द घिमिरे, तह प्रमुखहरु श्रीमती सावित्री अधिकारी र श्रीमती गीता वाग्ले, साथै अतिरिक्त क्रियाकलाप विभाग प्रमुख श्री मिङ्मा तामाङको समेत उपस्थिति रहेको थियो। यी सबैले शिविरको सहज सञ्चालन र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
यस शिविरमार्फत विद्यार्थीहरुका दन्त समस्याको प्रारम्भिक पहिचान गरी आवश्यक परामर्श तथा उपचारका सल्लाहहरु प्रदान गरियो। साथै उनीहरुलाई दन्त स्वास्थ्यमा ध्यान दिन र दैनिक मौखिक सरसफाइको महत्त्वबारे सचेत गराउने प्रयास पनि गरिएको थियो।
शिविरमा सक्रिय रुपमा सेवा दिने दन्त चिकित्सकहरुलाई प्राचार्य श्री श्रेष्ठज्यूले मायाको चिनो स्वरुप प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो। यस किसिमका स्वास्थ्य शिविरहरुले विद्यार्थीहरुमा दन्त स्वास्थ्य सम्बन्धी सचेतना बढाउन, समयमै उपचार गराउन र दीर्घकालीन स्वास्थ्य समस्याबाट जोगिन सहयोग गर्ने विश्वास प्राचार्य श्रेष्ठज्यूले व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, यस्ता कार्यक्रमहरु आगामी दिनहरुमा पनि निरन्तर रुपमा सञ्चालन गरी विद्यार्थीहरुको स्वास्थ्यमा सुधार ल्याउने लक्ष्य राखिएको छ।
विद्यार्थी, अभिभावक र शिक्षकहरुबाट यस प्रकारको सेवा कार्यक्रमको प्रशंसा भैरहेको छ र भविष्यमा थप स्वास्थ्य सम्बन्धी शिविरहरु आयोजना गर्न पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। यसरी चितवन मेडिकल कलेजको दन्त विज्ञान विद्यालय र लोटस एकेडेमी बीचको सहकार्यले विद्यार्थीहरुको समग्र स्वास्थ्य उन्नतिमा महत्वपूर्ण योगदान पुर्याएको छ।


