पोखरा — देवीरमण-कृष्णकुमारी स्मृति प्रतिष्ठान, कास्कीको आयोजनामा आइतबार पोखरामा १११औं देवीरमण जन्मजयन्ती तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा शिक्षा र समाजसेवामा उल्लेखनीय योगदान पु¥याएका दुई विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको छ।
कार्यक्रमअन्तर्गत पोखरा-९ नयाँबजार निवासी सामाजिक अभियन्ता राधादेवी बाँस्तोलालाई कृष्णकुमारी स्मृति महिला सेवा सम्मान तथा पोखरा-२५ हेम्जा निवासी शिक्षासेवी चतुरमान श्रेष्ठलाई देवीरमण स्मृति शैक्षिक सम्मान प्रदान गरिएको हो।
बाँस्तोलाको पाँच दशक लामो समाजसेवा
सामाजिक अभियन्ता बाँस्तोलाले विगत पाँच दशकभन्दा बढी समयदेखि कास्की जिल्लामा एक हजारभन्दा बढी महिलाहरुलाई सिपमूलक तालिम दिँदै उनीहरूको आर्थिक सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेलेकी छन्। त्यस्तै कुष्ठरोग र क्षयरोगबाट प्रभावित व्यक्तिहरूलाई समेत सिप सम्बन्धी तालिम प्रदान गरी पुनःस्थापना र आत्मनिर्भरता स्थापित गर्न सक्रिय रहिएकी छिन्।
शिक्षासेवी श्रेष्ठको तीन दशक लामो योगदान
शिक्षासेवी चतुरमान श्रेष्ठले वि.सं. २०१५ देखि २०५४ सालसम्म हेमजास्थित गौरीशंकर माध्यमिक विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्य गर्दै विद्यालयको भौतिक तथा शैक्षिक विकासमा दीर्घकालीन योगदान दिएका छन्।
प्रतिष्ठानका अनुसार सम्मानित दुवै व्यक्तित्वलाई सम्मानपत्र, दोसल्ला, माला र नगद रु २० हजारसहित सम्मानित गरिएको हो।
प्रमुख अतिथि तिवारीको प्रेरणादायी मन्तव्य
गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारीले प्रमुख अतिथिको रूपमा मन्तव्य दिँदै, देवीरमणले शिक्षा र समाजमा पुर्याएको योगदान अमूल्य रहेको उल्लेख गरे। उनले समाजसेवामा बाँस्तोला र शिक्षाक्षेत्रमा श्रेष्ठले पुर्याएको योगदान भावी पुस्ताका लागि प्रेरणादायी हुने बताए।
सम्मानित व्यक्तित्वद्वय बाँस्तोला र श्रेष्ठले देवीरमण गुरुसँगको सम्बन्धलाई स्मरण गर्दै, प्राप्त सम्मानले आफूलाई थप जिम्मेवार र सेवामुखी बन्ने ऊर्जा प्रदान गरेको प्रतिक्रिया व्यक्त गरे।
प्रतिष्ठान परिवार र विशिष्ट अतिथिहरुको उपस्थिति
कार्यक्रममा देवीरमण शर्माका सुपुत्र तथा प्रतिष्ठानका अध्यक्ष डा. अनिल सुवेदी, बुहारी शारदा सुवेदी, नाति अखिल सुवेदी, नातिनी निलम भट्टराई (Neelam Bhattarai) तथा अन्य परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो। त्यस्तै बिष्णु पराजुली, विश्व पराजुली लगायतका विशिष्ट व्यक्तिहरू पनि कार्यक्रममा सहभागी थिए।
सुवेदी कल्याण प्रतिष्ठानका सल्लाहकार चक्रपाणि सुवेदी, शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्री, वरिष्ठ शिक्षासेवी जर्ज जोन लगायतका विशिष्ट अतिथिहरूले शुभकामना मन्तव्य दिएका थिए।
पारदर्शी छनोट प्रक्रिया
छनोट समितिका संयोजक प्रा. डा. कृष्ण केसीले देवीरमण शर्मा र कृष्णकुमारी शर्माको जीवन र योगदानबारे जानकारी गराउँदै, छनोट प्रक्रियाबारे समेत स्पष्ट पारे। छनोट समितिमा प्रा. डा. ज्ञानबहादुर कार्की, प्रा. डा. कृष्णप्रसाद पौडेल, विश्लेषक विश्व सिग्देल, सह-प्रा. ज्योति भट्टचन, समाजसेवी टिका कार्की तथा अध्यक्ष-सचिव पदेन सदस्यको सहभागिता रहेको थियो।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष डा. अनिल सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो। सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए भने सचिव पशुपति सुवेदीले स्वागत मन्तव्य दिएका थिए।
देवीरमण शर्मा ‘शास्त्री’ : प्रेरणादायी जीवनयात्रा
कास्कीको कास्कीकोट, रोहोटेपानीमा जन्मिएका देवीरमण शर्मा सुवेदी ‘शास्त्री’ नेपाली समाजको शैक्षिक, धार्मिक र सामाजिक चेतनामा गहिरो छाप छोडेका प्रतिष्ठित व्यक्तित्व हुन्। भारतको धर्मशालास्थित भाग्सुमा प्रारम्भिक शिक्षा लिएका उनले संस्कृतमा उच्च अध्ययन गर्दै जम्मूस्थित रघुनाथ संस्कृत कलेजबाट ‘शास्त्री’ उपाधि प्राप्त गरेका थिए। सुवेदी कुलमा शास्त्री पास गर्ने उनी पहिलो व्यक्ति समेत थिए।
वि.सं. २०१७ मा पृथ्वीनारायण कलेजको स्थापनामा सक्रिय भूमिका निर्वाह गर्दै सो कलेजमा नेपाली विषयका प्रथम प्राध्यापक बनेका उनले आफ्नो शिक्षणशैली, कठोर अनुशासन र विद्यार्थीमैत्री व्यवहारद्वारा विद्यार्थीहरूमा असाधारण सुधार ल्याएका थिए। त्यसै बेला “देवीरमणसँग ट्युसन पढेपछि एसएलसी पास हुन्छ” भन्ने जनविश्वाससमेत स्थापित भएको थियो।
शिक्षा मात्र होइन, अमरसिंह हाई स्कूल, मौजा रात्रि पाठशाला, विन्ध्येस्वरी रात्रि पाठशालाजस्ता शैक्षिक संस्थाहरूमा समेत उनको विशिष्ट योगदान रह्यो। सत्यनिष्ठा, कठोर अनुशासन र समाजसेवा प्रतिको प्रतिबद्धताले उनले समाजमा अनुपम उदाहरण प्रस्तुत गरे।
उनको योगदानलाई सुपुत्र डा. अनिल सुवेदीद्वारा प्रकाशित ‘देवीरमण शर्मा ‘शास्त्री’ स्मृतिग्रन्थ’ मार्फत विस्तृत रूपमा अभिलेख गरिएको छ।


