काठमाडौं – तत्कालीन राजा वीरेन्द्र शाह र उनको परिवारको सम्पत्तिबाट सरकारलाई झण्डै २९ करोड रुपैयाँ आम्दानी भएको देखिएको छ । नेपाल ट्रष्टको कार्यालयबाट यसवर्ष सरकारलाई २८ करोड ८० लाख ५५ हजार रुपैयाँ आम्दानी भएको देखिएको हो ।
महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन २०८२ मा उक्त रकम ट्रष्टले व्याज र लिज भाडाबापत आम्दानी गरेको उल्लेख छ । प्रतिवेदनमा ट्रष्टले यो वर्ष ब्याजबापत १४ करोड ८० लाख आम्दानी र लिज भाडाबापत १० संस्थाबाट १४ करोड १ लाख ५५ हजार आयआर्जन गरेको लेखिएको छ ।
तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यको निधन भएपछि उनीहरूको नाममा रहेको र हक पुग्ने सम्पत्तिको व्यवस्थापन गरी राष्ट्रहितमा प्रयोग गर्न नेपाल ट्रष्टको कार्यालय स्थापना भएको थियो। महालेखापरीक्षकको कार्यालयअनुसार ट्रष्टले यो वर्ष ६ करोड ९५ लाख १९ हजार खर्च गरेको छ।
प्रतिवेदनअनुसार ट्रष्टको स्थापनाकालदेखि हालसम्म विभिन्न १२ जिल्लामा २१ हजार ६३३ रोपनी १५ आना जग्गा ट्रष्टको स्वामित्वमा छ । यस्तै विभिन्न वाणिज्य बैंकमा ब्रिटिस पाउण्ड ५४ हजार २८९, अमेरिकी डलर १ लाख ७३ हजार ६२६ र १ अर्ब ६८ करोड ३ लाख ५० हजार मौज्दात रहेको छ।
ट्रष्टको नाममा नबिल बैंक, होटल डेला अन्नपूर्ण र राष्ट्रिय वाणिज्य बैंकको समेत १२ लाख ९९ हजार ७३५ कित्ता सेयर रहेको महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन २०८२ मा उल्लेख छ । महालेखाले ट्रष्टको नाममा रहेको जग्गा जमिन तथा भवनहरू नेपाल ट्रस्ट ऐनमा गरिएको व्यवस्थाअनुरूप उपयोग गर्न सुझाएको छ । ट्रष्टले यस वर्ष लिज भाडाबापत १० संस्थाबाट १४ करोड १ लाख ५५ हजार आयआर्जन गरेको छ।


