काठमाडौँ – नेपाली क्रिकेटका लागि वर्ष २०८१ साल धेरै अर्थमा खास रह्यो। क्रिकेट ब्यबस्थापकीय रुपमा अब्बल बन्दै गर्दा नतिजाका रुपमा भने वर्ष २०८२ माथि दबाब बढाउँदै विदा भयो।
वर्षको सुरुवातमै अर्थात १ वैशाखमा दिपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्धको खेलमा अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गर्दै नयाँ इतिहास रचेर सुरुवाती दिलाए। उनले कतारका बलर कम्रान खानलाई अन्तिम ओभरमा लगातार ६ छक्का प्रहार गरेर कीर्तिमानका साथ वर्षको सुरुवात गरेका थिए। उनले वर्षको अन्त अर्थात चैतको अन्तिम साता टी-२० मा सर्वाधिक धेरै खेलमा ‘डकआउट’ नहुने खेलाडीको कीर्तिमान बनाए।
एसीसी प्रिमियरकपको सेमिफाइनलमा युएईसँग ६ विकेटले पराजित हुँदै एसियाकप छनोटको सम्भावनाबाट बाहिरिँदै वर्ष २०८१ को सुरुवात नेपाली क्रिकेटले गरेको थियो। त्यसो त ८ वैशाखमा एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग पराजित भएर शीर्ष तीनमा रहेर एसीसी इमर्जिङ टिम्स कपमा छनोट हुने अवसरसमेत नेपालले गुमाउन पुगेको थियो।
सन्दीपलाई सफाई
वर्ष २०८१ बाट सन्दीपले आफूमाथि लागेको बलात्कार आरोपमा औपचारिक रुपमा सफाइ पाए। २ जेठमा उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई सफाइ दिएको थियो। दुई दिनको निरन्तर बहस र सुनुवाईपछि न्यायाधिश सुदर्शन देव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई सफाई दिने फैसला गरेको थियो। त्यसविरुद्ध गौसाला २६ ले सर्वोच्च अदालत नजाने निर्णय गरेसँगै औपचारिक रुपमा सन्दीपका लागि यो मुद्दाले किनारा पायो।


तर सफाइका बाबजुत सन्दीप लामिछानेलाई अमेरिकाले लगातार दुई पटक भिसा दिन अस्विकार गर्दा अमेरिकामा भएका विश्वकपका खेल गुमाउन पुगेका थिए। पहिलो पटक ९ जेठमा उनको भिसा पहिलो पटक अमेरिकाले अस्विकार गरेको थियो। तर उनी अमेरिकाका खेलपछि क्यारेबियन भुमिमा भएका खेलका लागि भने क्यानडा हुँदै वेस्टइन्डिज पुगेर विश्वकप खेलेका थिए।
दक्षिण अफ्रिकासँग रोमाञ्चक १ रनको हार
यो पटक नेपाली पुरुष टीमले एतिहासिक रुपमा दोस्रो पटक टी-२० विश्वकप खेल्यो। उक्त विश्वकपमा दक्षिण अफ्रिका विरुद्धको खेल भने नेपाली दर्शकले संधै सम्झनामा रहने गरी प्रदर्शन गर्न नेपाल सफल भयो।
असार १ मा भएको विश्वकप अन्तर्गत समूहचरणको खेलमा दक्षिण अफ्रिकासँग नेपाल रोमाञ्चक रुपमा १ रनले पराजित भयो। अधिकांस समय दक्षिण अफ्रिकालाई दबाब बनाएको नेपालले टेस्ट टोलीलाई हराउने पहिलो अवसर गुमायो।
समूह डी मा नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो भने दोस्रो खलमा श्रीलंकासँग वर्षाले रद्द हुँदा १ अङ्क पाएको थियो। १ रनको हारसँगै नेपालको ‘सुपर आठ’ को सम्भावना सकिएको थियो। त्यसपछि अन्तिम खेलमा पनि नेपाल बंगलादेशसँग पराजित भएर टी-२० विश्वकप अन्त गर्न बाध्य भएको थियो। उक्त विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई हराएर भारत च्याम्पियन बनेको थियो।
७ वटै प्रदेशका खेलाडीलाई तलबको व्यवस्था
नेपाल क्रिकेट संघले पहिलो पटक गत १३ भदौमा एतिहासिक रुपमा प्रदेश मातहत रहेका खेलाडीलाई मासिक तलबको व्यवस्था गर्ने निर्णय गरेको थियो। पहिलो पटक क्यानले ७ वटै प्रदेशका क्रिकेट संघहरुमा २ महिला र ३ पुरुष खेलाडीलाई मासिक तलब स्वरुप १५ हजार दिने निर्णय गर्यो। जसले प्रदेशमा रहेर क्रिकेट खेल्न र क्रिकेटमा लाग्ने वातावरण मञ्जबुत हुने क्यानको ठहर थियो।
लिग-२ मा बिग्रिएको लय
नेपालले ३१ भदौदेखि ८ असोजसम्म क्यानडामा भएको विश्वकप लिग-२ को आफ्नो दोस्रो एकदिवसीय श्रृंखलामा नेपाल चार मध्ये तीन खेलमा पराजित भयो। एक खेल वर्षाका कारण रद्ध हुँदा नेपालले एक अंक मात्र प्राप्त गर्न सफल भयो।
पहलो खेलमा क्यानडासँग १०३ रनले हारेको नेपाल दोस्रो खेलमा ओमानसँग १ विकेटले पराजित भयो। त्यस्तै तेस्रो खेलमा क्यानडासँग ५ विकेटले पराजित भयो। अन्तिम एकदिवसीय खेलमा ओमानविरुद्व वर्षा हुँदा खेल टसनै नभइ रद्व हुँदा एक अङ्क हासिल गरेको थियो।
त्यस्तै कार्तिक ११ देखी १९ सम्म अमेरिकामा भएको विश्वकप लिग-२ को खेलमा नेपालले ४ मध्ये २ खेलमा हार भोग्यो। एक खेलमा जित र अर्को एक खेल अङ्क विहीन भएर टुंग्यायो। यो सिरिजमा नेपालले ३ अङ्क पायो। घरेलु टोली अमेरिकासँग २ वटै खेल गुमाउँदा स्कटल्यान्डसँग १ खेलमा जित र अर्को एक खेल वर्षाका कारण नतिजा विहीन बन्यो। स्कटल्यान्ड विरुद्ध नेपालले करिब ७ महिना पछि जित निकाल्न सफल भएको थियो।
समग्रमा १२ खेल सकिंदा नेपाल नेपाल पुछारबाट दोस्रो स्थानमा रहेको छ। उसको २ जित र ६ हार तथा २ खेल विना नतिजा सकिंदा ६ अङ्क रहेको छ। त्यसैले एकदिवसीय मान्यता र एकदिवसीय मान्यतालाई जीवन्त बनाउन २०८२ विश्वकप लिग-२ का लागि महत्वपूर्ण हुनेछ।
महिला विश्वकपमा पहिलो पटक छनोट र प्रतिस्पर्धा
नेपाल कात्तिकमा भएको आइसीसी महिला यू-१९ टी-२० विश्वकप छनोटमा इतिहास रच्न सफल भयो। इतिहासमै पहिलो पटक छनोट भएर कीर्तिमान बनायो। एसियाली क्षेत्र छनोटको निर्णायक खेलमा युएइलाई ८ विकेटले हराएर विश्वकपमा स्थान बनायो। उक्त प्रतियोगितामा नेपालकी कप्तान पूजा महतो प्लेयर अफ द टुर्नामेन्ट घोषित भएकी थिइन्। उनी उमेर समूहमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनिन्। उनले ५७ बलमै कुवेतविरुद्ध शतक प्रहार गरेकी थिइन् भने उनी १ सय ३० रनमा अविजित रहिन्। नेपाल, युएइ, थाइल्यान्ड र कुवेत सहभागि प्रतियोगिताको शीर्ष स्थानमा रहेर नेपाल विश्वकपमा छनोट भएको थियो।
माघमा भएको विश्वकपमा भने नेपाल एतिहासिक उपलब्धि हासिल गर्न असफल भयो। पलेअफमा मलेसियालाई ७ विकेटले हराएर प्रतियोगिताको सुखद अन्त गर्न सफल भयो। यद्यपि समूहचरणमा भएका खेलमा भने नेपालले आफ्नो समूहमा रहेका सबै तीन खेल गुमाउन पुगेको थियो। नेपाल समूहचरणमा बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग पराजित भएको थियो। यि मध्ये कुनै पनि एक खेल जितेको भए नेपालले एतिहासिक रुपमा सुपर सिक्समा पुग्ने अवसर पाउने थियो। जसमा नेपाल असफल भयो। यद्यपि अर्को यू-१९ विश्वकप भने नेपालले आयोजनाको अवसर पाउन सफल भयो।
एनपिएलको सफल आयोजनाले बढाएको क्रिकेटको गरिमा
नेपाल क्रिकेट संघ क्यानको बहुप्रतिक्षित टी-२० फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रमियर लिग (एनपिएल) लाई सफलता पूर्वक सम्पन्न गर्यो। १५ मंसीर देखी ६ पुससम्म चलेको प्रतियोगितामा दर्शकहरुको भव्य उपस्थितिका कारण रोमाञ्चक बनेको थियो।
६ पुसमा भएको नेपाल प्रिमियर लिगको फाइनलमा जनकपुर बोल्ट्सले सुदुरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै उपाधि जित्यो। १ सय ८५ रनको लक्ष्य जनकपुरले ४ बल बाँकी हुँदा ५ विकेट गुमाएर पुरा गर्दै उपाधि जितेको थियो। प्रतियोगितामा दिपेन्द्र सिंह ऐरी उत्कृष्ट खेलाडी बन्दै कार पुरस्कार पाएका थिए। कुनैपनि खेलाडीले एकै इभेन्टमा कार पुरस्कार पाएको नेपालमा यो पहिलो घटनाका रुपमा रह्यो।
त्यसोत क्यालेन्डर बनाएरनै नेपाल क्रिकेट संघ क्यानले क्रिकेटलाई व्यस्त राख्ने प्रयास वर्षभरी गर्यो। प्रधानमन्त्री कप देखी महिला र अन्तर्राष्ट्रिय एक्सपोजका कारण क्रिकेट वर्षभरीनै चलायमान रह्यो।
देशाइको विदाइ र स्टुआर्टको नियुक्ति
नेपाल क्रिकेट संघ क्यानले आफ्नो दुई वर्षे कार्यकाल पूरा गरेका प्रशिक्षक मोन्टी देशाइको कार्यकाल नथप्ने निर्णय गर्यो। उनलाई माघ दोस्रो साता अर्थात फेब्रुअरीपछि औपचारिक रुपमा धन्यवाद दिएर क्यानले विदाइ गर्यो। नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याएर देशाइ स्वदेश फर्किए।
क्यानले औपचारिक रुपमा मुख्य प्रशिक्षकको दर्खास्त आह्वान गर्दै नयाँ प्रशिक्षकमा अस्ट्रेलियाका स्टुआर्ट ल लाई मुख्य प्रशिक्षक बनायो। १५ चैतमा उनलाई क्यानले औपचारिक रुपमा नेपालको प्रशिक्षक घोषणा गरेपनि उनले टिम भने सम्हाल्न पाएका छैनन्। प्रकृयागत रुपमा उनका कागजातहरू नमिलेको भन्दै वर्षको अन्तिममा भएको हङकङ सिरिजमा ज्ञानेन्द्र मल्लले पहिलो पटक नेपाली टिम समाल्ने अवसर पाए।
टेस्ट टिमको अनुभव बटुलेका स्टुआर्टका लागि मात्र नभइ वर्ष २०८२ नेपाली क्रिकेटको बाँकी यात्राका लागि समेत महत्वपूर्ण हुनेछ।