चितवन – चितवनमा नाटक महोत्सव सुरु भएको छ । नारायणगढस्थित नारायणी कला मन्दिरमा आइतबारदेखि सुरु भएको ‘प्रथम चितवन अन्तर्राष्ट्रिय नाटक महोत्सव–२०८१’ मा मंगलबारसम्म नेपालसहित भारत, जापान, इरान, लिथुवानिया र स्पेनका नाट्यकर्मीले नाटक देखाउने छन् । तरङ्ग नाट्य समूह, कर्मी चौतारी र नारायणी कलामन्दिरले संयुक्तरूपमा महोत्सव आयोजना गरेका हुन् ।
काठमाडौंमा जारी नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को समानान्तर कार्यक्रमका रूपमा चितवनमा पनि नाटक महोत्सव सुरु गरिएको हो । नाट्य महोत्सव कास्कीको पोखरा र मोरङको बेलबारीमा पनि सुरु भएको छ ।
चितवनमा आइतबार अपरान्ह भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारी र कलाकार विजय बरालले संयुक्तरूपमा नेपाली बाजा झ्याली र ढ्याङ्ग्रो बजाएर नाटक महोत्सवको उद्घाटन गरेका हुन् ।
महोत्सव उद्घाटन गर्दै उपमेयर अधिकारीले कला, साहित्य, भाषा र संस्कृतिको जगेर्ना गर्न महानगरले प्रज्ञाप्रतिष्ठान बनाएर काम गर्दै आएको बताए । चितवनमा युवा साथीहरूले अन्तर्राष्ट्रिय नाटक महोत्सव गरेर प्रसंशनीय काम गरेको भन्दै उनले खुसी व्यक्त गरे ।
कलाकार विजय बरालले भवन मात्रै भएर शहर सुन्दर नहुने दावी गरे । `शहर सुन्दर हुन ठुला ठुला भवन बनाएर मात्रै हुँदैन, त्यहाँ कला हुनुपर्छ । कला बुझेको मान्छेले शहरको नेतृत्व गर्नुपर्छ´, कलाकार बरालले भने – `चितवनमा कलाको लहर चलेको छ । यहाँका साथीहरू मेहनत गरेर लागिरहेकोमा मलाई खुसी लागेको छ ।´


उद्घाटन सत्रलगत्तै जापान र नेपालका कलाकारको प्रस्तुति रहेको ‘कान्दता एन्ड शकुन्तला’ नाटक देखाइएको थियो । त्यसपछि चितवनका नाट्यकर्मीले बनाएको ‘बिम्बको भरिया’ नाटक प्रस्तुत गरियो ।
आइतबार दुईवटा नाटक र दुई वटै सांस्कृतिक नाच प्रस्तुत भएको नारायणी कलामन्दिरको प्रेक्षालयमा सोमबार र मंगलबार पनि यो सिलसिला जारी नै रहने छ । जहाँ विदेशी नाट्यकर्मीले पस्कने फरक शैलीका नाटकसँग रमाउन पाइने छ ।
सोमबार आयोजकले नै एउटा नाटक प्रस्तुत गरेपछि लिथुवानिया र स्पेनका नाट्यकर्मीले संयुक्त नाटक ‘अराइभ्ड’ देखाउने छन् । ‘अराइभ्ड’पछि इरानी नाटक ‘एन्टिगोन’ प्रस्तुत हुने छ । सोमबार नै स्पेनको टोलीको सडक नाटक, कविता वाचनको कार्यक्रम र गुरुङ जातिको सांस्कृतिक नाचसमेत राखिएको आयोजकले जानकारी दिए ।
मंगलबार सकिने महोत्सवमा भारतीय नाटक ‘तमासा’ मञ्चन हुनेछ । महोत्सवमा नेपालसहित ६ देशका ४० नाट्यकर्मीको जमघट हुने संयोजक देवकुमार श्रेष्ठले बताए ।
काठमाडौंमा जारी नाट्य महोत्सवमा सहभागी हुन आएका विदेशका नाट्यकर्मी नारायणगढमा पनि नाटक लिएर आएका हुन् । ‘अन्तर्राष्ट्रिय स्तरका नाट्यकर्मीको जमघट र कला प्रस्तुति यहाँका दर्शकका लागि र हामी नाट्यकर्मीका लागि पनि फलदायी हुने छ भन्ने आशा छ ।
चितवनमा नाटक र रंगमञ्चको संस्कृति विकासमा यो महोत्सवले राम्रो भूमिका खेल्ने छ,’ महोत्सवका निर्देशक अञ्जान प्रदीपले भने । नाट्य महोत्सवमा चित्रकार बरुणबाबु घिमिरेको चित्रकला प्रदर्शनी पनि राखिएको छ । प्रदर्शनीमा राखिएको कलाकार विजय बरालको पोट्रेट घिमिरेले बराललाई नै हस्तान्तरण गरेका छन् ।
सोही प्रदर्शनीमा कर्मी चौतारीको एक दशक लामो यात्राका गतिविधिको फोटो प्रदर्शनी पनि राखिएको छ । महोत्सवको अन्तिम दिन मंगलबार एउटा शास्त्रीय प्रस्तुति पनि रहने निर्देशक प्रदीपले जानकारी दिए ।