प्रहरीद्वारा गाँजा बरामद, ओसारपसारमा संलग्न व्यक्तिहरू फरार

एटुजेड समाचार

वीरगञ्ज – बारामा प्रहरीले दुई छुट्टाछुट्टै घटनामा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । दुबै घटनामा गाँजा तस्करहरू भने फरार भएका छन् ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको टोलीले ५५ किलो ९० ग्राम गाँजा बरामद गरेको हो । गाँजा ओसारपसारमा संलग्न व्यक्ति झोला फालेर भागेपछि उनलाई पक्राउ गर्न नसकिएको बारा प्रहरीले जनाएको छ ।

एक अर्को घटनामा पनि सवारी जाँच गर्ने क्रममा गाँजा ओसारपसारमा संलग्न दुई व्यक्तिले झोला र मोटरसाइकल छोडेर भागेको बारा प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रमुख वरिष्ठ सई टेकबहादुर कार्कीले प्रहरीलाई देखेर गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरु हत्तपत्त सामान फ्याँकेर भागेको बताए । ‘हामीले उनीहरुलाई पक्राउ गर्ने प्रयास नगरेको होइनौँ तर उनीहरु भागेर बेपत्ता भए ।

प्रहरीले ती व्यक्तिहरुको मोबाइल र मोटरसाइकल नियन्त्रणमा लिएर पनि अझैसम्म उनीहरुलाई समात्न सकेको छैन । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ । फरार व्यक्तिलाई समात्न सीमा नाकामा कडाइ गरिएको छ ।

बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश सापकोटाका अनुसार, तस्करले फालेको झोलाबाट २८ किलो गाँजा बरामद भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू