वीरेन्द्रनगर – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टीसँग एकताको विषयमा कुरा भइरहेको बताएका छन् ।
पार्टी प्रशिक्षण कार्यक्रममा भाग लिन सुर्खेत पुगेका प्रचण्डले मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा पार्टी एकताका लागि माधवकुमार नेपाल र नेत्रविक्रम चन्द ‘विप्लव’ सँग कुरा भइरहेको बताए ।
पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको दाबी गर्दै प्रचण्डले भने, ‘पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको हो । समाजवादी मोर्चामा विश्वासको वातावरण बनाएर पार्टी एकतामा जाने योजना बनेको छ ।’
उनले अहिलेको सरकार भ्रष्टहरूको सरकार रहेको आरोप लगाए । ‘अहिलेको सरकारले देश जनताका पक्षमा काम गरेको छैन,’ उनले भने, ‘सरकारले अहिले भ्रष्टहरूलाई बचाउने काम गरिरहेको छ ।’
सरकारले अध्यादेश ल्याएर सदनको अवमूल्यन गरेको उनको तर्क छ । ‘अहिले अध्यादेशका विधेयक राष्ट्रियसभामा गएर अड्किएका छन् । सरकारले धेरै अहंकार नगरे हुन्छ,’ प्रचण्डले भने ।