प्रणय दिवसमा ४ लाख २५ हजार गुलाफ खपत हुने अनुमान

एटुजेड समाचार

काठमाडौँ – यस वर्षको प्रणय दिवस (भ्यालेनटाइन्स डे) मा ४ लाख २५ हजार स्टिक गुलाफ खपत हुने अनुमान गरिएको छ । फेब्रुअरी ७ मा रोज डे मनाउँदै सुरु भएको ‘भ्यालेनटाइन्स विक’ फेब्रुअरी १४ मा ‘भ्यालेनटाइन्स डे’ मनाउँदै सकिनेछ ।

काठमाडौँ उपत्यकाभित्र २ लाख ५५ हजार स्टिक र उपत्यकाबाहिर १ लाख ७० हजार खपत हुने फ्लोरिकल्चर एसोसिएसन नेपालको आकलन छ । गत वर्षको प्रणय दिवसमा ३ लाख ५० हजार वटा गुलाब खपत हुने एसोसिएसनको तथ्याङ्क थियो । तर उक्त वर्ष ४ लाख १२ हजार वटा गुलाब खपत भएको एसोसिएसनले जनाएको थियो ।

पछिल्लो समय नेपालमा पनि मनाउँदै आएकाले गुलाफको खपत बढ्दै बर्सेनि बढ्दै गएको एसोसिएसनले जनाएको छ । प्रणय दिवसमा गुलाबको माग बर्सेनि बढ्दै गएको एसोसिएसनको तथ्यांकले नै देखाएको छ । प्रणय दिवसमा गुलाबसँगै चकलेट, टेड्डीलगायतको पनि धेरै कारोबार हुने गरेको छ ।

एसोसिएसनका अनुसार ०७६ को प्रणय दिवसमा २ लाख वटा मात्रै गुलाब खपत भएको थियो । ०७७ मा कोभिडका कारण गुलाबको खपत घटेको एसोसिएसनले जनाएको छ । यद्यपि ०७७ को प्रणय दिवसमा १ लाख २० वटा मात्रै गुलाब खपत हुने अनुमान गरिएकोमा १ लाख ८० हजार वटा खपत भएको एसोसिएसनको तथ्याङ्क छ । तर ०७८ मा एसोसिएसनले अनुमान गरेको भन्दा कम गुलाब खपत भएको थियो । यसरी प्रणय दिवसमा गुलाबको खपत बढ्दै गएको छ ।

यस वर्षको प्रणय दिवसमा गुलाफको माग आयातित ७५ प्रतिशत र २५ प्रतिशत आन्तरिक उत्पादनले धान्ने एसोसिएसनका महासचिव हीरामणि शर्माले बताए । ‘३ लाख १८ हजार ७५० स्टिक फूल भारतबाट आयात हुनेछ भने १ लाख ६ हजार २५० स्टिक स्वदेशी गुलाफ खपत हुने अनुमान छ,’ उनले भने । यसअघिका प्रणय दिवसमा १० प्रतिशत मात्रै आन्तरिक गुलाफ हुने गरेको शर्माको भनाइ छ ।

‘यसपालि गुलाफको उत्पादन बढेको छ, मौसम पनि अनुकूल भयो, यसपालि २५ प्रतिशत गुलाफको माग आन्तरिक उत्पादनले धान्छ,’ उनले भने । यस वर्ष गुलाफको मागसँगै मौसम अनुकूल हुँदा आन्तरिक उत्पादन बढेको शर्माले जनाए ।

हरेक वर्ष गुलाफको माग १५ देखि २० प्रतिशत बढ्ने अनुमान रहेको एसोसिएसनले बताएको छ । ‘प्रणय दिवसको साताभर ४ करोड ६७ लाख रुपैयाँको कारोबार हुने अनुमान छ,’ एसोसिएसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रतिगुलाफ ९० देखि १२० रुपैयाँमा कारोबार हुने एसोसिएसनको अनुमान छ ।

नेपालमा चाडपर्वबाहेकको सामान्य दिनमा प्रतिदिन १० हजार स्टिक गुलाफ फूलको माग रहने एसोसिएसनले बताएको छ । काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलाञ्चोक र रूपन्देहीमा व्यावसायिक गुलाफ फूलको खेती हुने गरेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू