अध्यादेश अड्किएपछि प्रधानमन्त्री ‌ओली संसद्‍मा नजाने

एटुजेड समाचार

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार बस्न लागेको प्रतिनिधि सभाको बैठकमा सहभागी नहुने भएका छन् ।माथिल्लो सदन राष्ट्रियसभामा अध्यादेशको पक्षमा बहुमत पुग्ने निश्चित नभएपछि दुवै संसद्मा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची हटाइएपछि ओली नजाने निर्णयमा पुगेका हुन् ।

बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने छन् ।गत माघ १८ गतेदेखि सुरु भएको संसद्को हिउँदे अधिवेशनमा प्रमुख प्रतिपक्षी नेताका रुपमा प्रचण्ड पहिलो पटक बोल्न लागेका हुन् ।

राष्ट्रिय सभामा बहुमत पुर्‍याउन सत्तापक्षलाई जनता समाजवादी पार्टी (जसपा) नेपालको साथ चाहिन्छ । ५९ सदस्यीय राष्ट्रियसभामा अध्यादेश स्वीकार गर्न बहुमत अर्थात् कम्तीमा ३० सांसदको समर्थन आवश्यक पर्छ । अध्यादेशबारे निर्णय गरिनसकेको जसपा नेपालका राष्ट्रियसभामा ३ सांसद छन् ।

राष्ट्रिय सभामा अध्यादेशको पक्षमा रहेका कांग्रेसका १६, एमालेका १०, मनोनीत २ र लोसपाका १ गरी २९ सांसद छन् ।यस्तै विपक्षमा नेकपा माओवादी केन्द्रका १७, नेकपा एकीकृत समाजवादीका ८ र राष्ट्रिय जनमोर्चाका १ गरी २६ सांसद छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत पुसमा जारी गरेका ६ अध्यादेश पास गराउन माथिल्लो सदनमा जसपा निर्णायक छ । तल्लो सदनमा कांग्रेसएमालेको बहुमतले सजिलै पास हुन्छ । तर माथिल्लो सदनमा अध्यादेश पास वा फेल गराउने खेलका निर्णायक जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू