काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सङ्गठित अपराध सम्बन्धी कसुरमा अभियोजन गर्नबाट उन्मुक्ति दिने जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलमाथि छानबिन सुरु भएको छ ।
चितवनको सहारा सहकारी ठगी प्रकरणमा मङ्गलवार जिल्ला सरकारी वकिल कार्यालयले रविसहित १५ जनाविरुद्ध अभियोजन गरेको थियो । अन्यलाई सङ्गठित अपराधमा पनि अभियोजन गर्दा रविलाई भने सहकारी ठगी कसुरमा मात्रै अभियोजन गरिएको छ ।
त्यसपछि मङ्गलवार साँझ नै लुइँटेल काठमाडौं तानिएका थिए ।महान्यायाधिवक्ता कार्यालयले साँझ नै छानबिन समिति पनि गठन गरेको जनाएको छ ।
‘नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन भएको छ,’ महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले भने, ‘समितिलाई यथासक्दो चाँडो छानबिन गरेर प्रारम्भिक प्रतिवेदन बुझाउने कार्यादेश छ ।’
समितिले चितवन अदालतमा भएको अभियोजन अध्ययन गरेर छानबिन गर्ने कार्यादेश रहेको दाहालले बताए।