रवि लामिछाने चितवन जिल्ला अदालतमा हाजिर, बयान लिइँदै

एटुजेड समाचार

चितवन – साहारा बहुउद्देश्यीय सहकारी संस्थाको ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने चितवन जिल्ला अदालतमा बयानका लागि बुधबार बिहान हाजिर भएका छन् । बयान सकिएलगत्तै थुनछेक बहस सुरु हुने चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

लामिछानेविरुद्ध चितवनमा ठगीसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा उनीविरुद्ध संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको थियो । चितवन जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर भएको सहकारी ठगी मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा पेशी तोकिएको छ ।

अभियोगपत्रमा साहारा चितवन सहकारीबाट गोर्खा मिडियामा आएको साढे ३ करोडका साथै अन्य सहकारी तथा विभिन्न माध्यमबाट गोर्खा मिडियामा आएको रकममध्ये ४८ करोड रुपैयाँभन्दा बढी रविको एकल हस्ताक्षरबाट खर्च भएको उल्लेख छ । यो रकम खर्च गर्न रविले ८१४ वटा चेक काटेको विवरण छ ।

मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनमा सभापति लामिछानेसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

१२ जनालाई संगठित अपराध र ठगीको मुद्दा दर्ता भएको छ भने लामिछानेसहित बाँकी २० जनालाई ठगीको मात्रै अभियोग लगाइएको छ । साहारा चितवन सहकारीबाट गोरखा मिडियामा १० करोड ८० लाख १८ हजार रुपैयाँ गैरकानुनी रुपले गएको दाबी गरिएको छ।

यसअघि, लामिछाने १३ माघमा रूपन्देही जिल्ला अदालतको आदेशपछि एक करोड रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

लामिछाने पहिलोपटक गत कात्तिक २ गते पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका थिए । उनी २५ पुसमा कास्की जिल्ला अदालतबाट ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

यस्तै, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा उनी ६० लाख रुपैयाँ धरौटीमा माघ २ गते रिहा भएका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू