सरकारका क्रियाकलापले निराशा र असन्तुष्टि बढ्दै गएको छ : प्रचण्ड

एटुजेड समाचार

काठमाडौँ – प्रमुख प्रतिपक्षी दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको औचित्य गुम्दै गएको दाबी गरेका छन् । संसद् भवन नयाँ बानेश्वरमा आज आयोजित विपक्षी दलको पत्रकार सम्मेलनमा उनले सरकारको कामले झन् निराशा बढाएकाले यसले औचित्य गुमाउँदै गएको बताए ।

सम्मेलनमा प्रचण्डले कांग्रेस एमाले गठबन्धन सरकार अप्राकृतिक भएको जनाए । ‘सरकारका क्रियाकलापले निराशा र असन्तुष्टि बढ्दै गएको छ । सरकारकाे औचित्य गुम्दै गएको छ,’ उनले भने, ‘सरकार जुन तरिकाले बन्यो, अप्राकृतिक तरिकाले बनेको छ । अपारदर्शी तरिकाले बनेको छ । संविधानको मर्म र भावनाविपरीत बनेको छ ।’

सरकारका गलत क्रियाकलापको विरोध गर्न विपक्षी दल एक ठाउँमा उभिएको उनले बताए । ‘देशको स्थितिप्रति गम्भीर चिन्ताका साथ विपक्षी दलले विरोध गरेका छौ‌ँ,’ उनले भने, ‘जरुरी पर्दा सडक संघर्षमा जान बाध्य हुनेछौँ ।’

अध्यक्ष प्रचण्डले यही कुरा १ माघमा सिन्धुपाल्चोकको सुकुटे पुग्दा पनि बताएका थिए । त्यतिबेला उनले सरकार अप्राकृतिक रहेको भन्दै असंवैधानिक सरकारप्रति जनता खुसी नभएको तर्क गरेका थिए ।

उनले भनेका थिए, ‘यस सरकारको कामप्रति जनता खुसी छैनन्, सरकारलाई लिएर कांग्रेसभित्र पनि गहिरो र चरम असन्तुष्टि देखिन्छ ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू