देवघाटमा ऐतिहासिक मकरस्नान, आजबाट एकमहिने महा-महोत्सव

एटुजेड समाचार

चितवन – चितवन, नवलपुर र देवघाटको संगमस्थल देवघाटमा आज माघ एक गते ऐतिहासिक मकरस्नान चलिरहेको छ भने आजबाट नै एक महिने महामहोत्सव पनि सुरु हुने भएको छ। धार्मिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले महत्वपूर्ण मानिने यो महोत्सवको उद्घाटन दिउँसो १ बजे भव्य समारोहका साथ गरिनेछ। आयोजकका अनुसार उद्घाटन समारोहमामा देश-विदेशका श्रद्धालु भक्तजनहरूको विशाल उपस्थिति रहने छ ।

नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वति जी महाराजको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा अन्य विशिष्ट अतिथिहरु १००८ स्वामी रमनानन्द जी महाराज, १००८ जगन्नाथाचार्य स्वामी जी महाराज, १००८ हरिशरण स्वामी जी महाराजलगायत प्रतिष्ठित धार्मिक व्यक्तित्वहरूको उपस्थिति रहनेछ।

मकर संक्रान्तिको पवित्र अवसरलाई केन्द्रित गर्दै बिहानैदेखि भक्तजनहरूले त्रिवेणी संगममा स्नान गर्दै विभिन्न धार्मिक अनुष्ठानमा भाग लिइरहेका छन्। मठ-मन्दिरहरूमा भजन-कीर्तनको मधुर ध्वनि गुञ्जिएको छ भने श्रद्धालुहरूले दान-पुण्य गरी आध्यात्मिक लाभ लिइरहेका छन्। महोत्सवका प्रमुख आकर्षणमा अखण्ड हरिनाम संकीर्तन, १०८ श्रीमद्भागवत पाठ, १ लाख २५ हजार श्रीफल हवन, १ लाख शीला पूजन र शिलान्यास, ११ अर्ब रामनाम लेखन र पूजन, तथा ३३ कोटी दीप प्रज्वलनजस्ता धार्मिक गतिविधिहरू रहेका छन्।

देश-विदेशका ख्यातिप्राप्त कथा वाचकहरूले महोत्सवलाई थप विशेष बनाइरहेका छन्। विश्वकै कान्छी कथा वाचिका अनुराधा पाण्डे, देवी प्रतिभा, पूज्या यशोदा माताजी र युवा कथा वाचक ओमप्रकाश सुवेदीले प्रवचनद्वारा श्रद्धालुहरूलाई आध्यात्मिक ज्ञान प्रदान गरिरहेका छन्। भक्तजनहरूको सुविधाका लागि उत्कृष्ट व्यवस्थापन गरिएको छ।

करिब १०,००० व्यक्तिको दैनिक भोजन र आवासको निःशुल्क व्यवस्था गरिएको छ भने २०,००० भन्दा बढी व्यक्तिलाई समेट्न सक्ने तीन भव्य पण्डाल निर्माण गरिएको छ। शुद्ध पानी, शौचालय, प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मीको टोली खटाइएको छ भने वृद्धवृद्धा तथा असक्त व्यक्तिहरूका लागि यातायातको विशेष व्यवस्था गरिएको छ। सुरक्षाका लागि सुरक्षाकर्मी र स्वयंसेवकहरूको टोली परिचालित गरिएको छ।

महोत्सवका सम्पूर्ण कार्यक्रमहरू दीप टिभी र सत्य तथ्य टिभीबाट महिना दिनसम्म प्रत्यक्ष प्रसारण गरिनेछ। भजन-कीर्तन र सांस्कृतिक प्रस्तुतिले महोत्सवलाई थप आकर्षक बनाउने छ । धार्मिक, सांस्कृतिक र आध्यात्मिक समर्पणको प्रतीक बनेको यो महोत्सवमा सहभागी भई पुण्य लाभ लिन आयोजकहरूले सबैलाई निमन्त्रणा गरेका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू