शिक्षाको ज्योति बालिने ठाउँमा एक बालकले गुमाए आँखाको ज्योति

एटुजेड समाचार

नवलपरासी (बर्दघाट–सुुस्तापश्चिम) – विद्यालय भनेको शिक्षाको ज्योति बालिने ठाउँ हो । सरस्वतीको मन्दिर मानिने विद्यालयमा विद्यार्थीमाथि भएका यातना र दुव्र्यवहारका घटना कहिलेकाहीँ सार्वजनिक हुन्छन् । पछिल्लो पटक नवलपरासी (बर्दघाट–सुुस्तापश्चिम) को प्रतापपुर गाउँमा रहेको एक विद्यालयमा शिक्षकको कुटाइबाट यूकेजीमा पढ्ने एक जना विद्यार्थीको आँखा फुटेको घटना सार्वजनिक भएको छ ।

प्रतापपुर गाउँपालिका–१ मा रहेको एच पाठशालाकी शिक्षिका सन्जु चौधरीले पाइपले हान्दा यूकेजीमा पढ्ने ६ वर्षीय प्रशान्त चौधरीको बायाँ आँखा फुटेको हो । यो घटना गत मंसिर १८ गतेको भए पनि प्रहरीमा ढिलोमात्रै उजुरी परेपछि सार्वजनिक भएको हो । यही पुस १९ गते मात्र प्रहरीले शिक्षिकाविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएको थियो । अहिले ती शिक्षिका फरार छन् ।

गत मंसिर १८ गते कक्षामा दुई विद्यार्थी बीचको झगडा छुट्याउने क्रममा शिक्षिका चौधरीले ती बालकलाई प्लास्टिकको पाइपले हानेकी थिइन् । त्यहीक्रममा प्रशान्तको आँखामा चोट लागेको विद्यालयका प्रिन्सिपल सुजितकुमार गुप्ताको भनाई छ ।

प्रिन्सिपल गुप्ता भन्छन्, ‘मिसले पढाइरहेको बेला दुईजना विद्यार्थी झगडा गरिरहेको अवस्था थियो । त्योबेला बोर्डमा प्रयोग गर्नका लागि राख्नु भएको प्लास्टिकको पाइप थियो कि के थियो त्यसले झुक्किएर लागेको भनेर उहाँले हामीलाई भन्नु भएको छ ।’

त्यसपछि विद्यालयले नै प्रशान्तलाई नजिकैको गोपीगञ्ज बजारमा उपचारका लागि लगेको थियो । त्यहाँ उपचार सम्भव नभएपछि अभिभावकहरुले परासी, रणअम्बिका आँखा अस्पताल भैरहवा हुँदै काठमाडौंको तिलगंगा आँखा अस्पताल पु¥याए । तर चिकित्सकले बालकको नानी फुटेकाले आँखा देख्न नसक्ने बताएको प्रशान्तका बुवा नरेन्द्रप्रसाद चौधरी बताउँछन् ।

अभिभावकका अनुसार वायाँ आँखाको चोटले दायाँ आँखा पनि राम्रोसँग खोल्न र हेर्न मिल्दैन । चिकित्सकले एक वर्षसम्म उपचार गर्नुपर्ने भनेकाले बेलाबेलामा अस्पतालमा फलोअपमा आउन भनेको बुवा नरेन्द्र बताउँछन् ।

काठमाडौंमा बालकको उपचार गराएर फर्किएपछि बाबु नरेन्द्रले पुस १६ गते उपचारका कागजातसहित इलाका प्रहरी कार्यालय बर्दघाटमा शिक्षिका सन्जुविरुद्ध उजुरी दिएका छन् । त्यसलगत्तै अनुसन्धान प्रक्रिया अघि बढाएको नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले बताए ।

डिएसपी बोहराले भने, ‘अभिभावकहरु विद्यालयसँगै छलफल गर्दै, उपचार गराउँदै गर्नु भएको रहेछ, त्यसैले प्रहरीमा ढिलोमात्रै उजुरी आयो । त्यसपछि अदालतमा मुद्दा दर्ता गरी कानुन बमोजिम अनुसन्धान प्रक्रिया अघि बढाएका छौं ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू