स्क्रिन समय : प्रभाव र व्यवस्थापन

विकास र प्रविधिले फड्को मारेसँगै हामी अहिले डिजिटल युगमा प्रवेश गरिसकेका छौँ । अध्ययन, अध्यापन, व्यावसायिकदेखि दैनिक जीवनयापनका हरेक कार्यहरु सहजतापूर्वक सम्पन्न गर्नको लागि हामीले प्रविधिकै भर पर्नु पर्ने भइसकेकोले कम्प्युटर, मोबाइल, टिभी जस्ता उपकरणहरुसँगैको समय अब जीवनको अभिन्न र अनिवार्य पक्ष बनिसकेको छ । यस्ता उपकरणहरुले हामीलाई जानकारी, मनोरञ्जन र विविध विषयबारे पहुच राख्न सहज त बनाएका छन् तर यिनकोे अत्यधिक प्रयोगले हाम्रो मानसिक तथा शारीरिक स्वास्थ्य र जीवनशैलीमा नै नकारात्मक प्रभाव पार्न सक्ने कुरालाई नजरअन्दाज नगरी बेलैमा आत्मसात गरेर सचेत हुन अति आवश्यक देखिएको छ ।

स्क्रिन समय भन्नाले हामीले विभिन्न उपकरणहरु जस्तै मोबाइल, ल्यापटप, कम्प्युटर, इन्टरनेट, टी.भी. आदिमा विताएको समय भन्ने बुझिन्छ । लगातार वा लामो समयसम्म स्क्रिन समय बिताउनाले यसले हाम्रो स्वस्थ्यमा प्रत्यक्ष असर पर्दछ भन्ने विभिन्न अनुसन्धानबाट समेत पुष्टि भैसकेको छ ।

सामान्यतः स्क्रिन समय व्यतीत गर्दा यसका फाइदा र बेफाइदा दुवै हुन्छन् । यसको राम्रो पक्ष भनेको यसले व्यक्तिको सिर्जनशीलतालाई उजागर गर्न सहयोग गर्दछ । त्यतिमात्र नभई यसले मानिसलाई एक आपसमा सूचना तथा भावनाको समेत सञ्चार गराउन सहयोग गर्छ । नयानया सीपहरु सिक्ने, आफू जस्तै वा आफूलाई बिस्तार आदि गर्न स्क्रिन समयको सदुपयोग गर्न सकिन्छ । तथापि यसको अत्यधिक प्रयोगले सकारात्मकभन्दा पनि नकारात्मक प्रभाव छिटो र धेरै ल्याउने गर्दछ । अत्यधिक स्क्रिन समयले डिजीटल एडिक्सन हुन सक्छ । व्यक्तिले आफ्नो दैनिक क्रियाकलापलाई समेत असर पर्ने गरी, स्क्रिन समय बिताउँदा आखा सुख्खा हुने वा दुख्ने, टाउको दुख्ने, मोटोपन, अनिद्रा, चिडचिडाहट हुने, आफ्नो कामहरु समयमै सम्पन्न गर्न नसक्ने फलस्वरुप मानसिक, शारीरिक, सामाजिक तथा व्यावसायिक उत्पादनशीलता घटेर जाने हुन्छ ।

यसैसँग सम्बन्धित रहेर गरिएका विभिन्न अनुसन्धानले पनि धेरै स्क्रिन समयले व्यक्तिमा प्रत्यक्ष रुपमै असर पार्दछ भनेका छन् । यदि कुनै बच्चाले दैनिक ७ घण्टाभन्दा बढी स्क्रिन समय बिताउँछ भने उसको मष्तिकको सेरेब्रल कर्टेक्स पातलो हुँदै जान्छ र समस्या निम्तिन सक्छ । यदि २४ देखि ३० महिनाको बच्चाले दैनिक ३ घण्टाभन्दा बढी समय मोबाइलमा या कुनै स्क्रिनमा बिताउँछ भने उसको भाषा विकास कम हुन सक्ने अधिक सम्भावना रहन्छ । तसर्थ यसलाई कसरी सही व्यवस्थापन गर्न सकिन्छ भन्ने बिषय अत्यन्त महत्वपूर्ण छ ।

अतः स्वस्थ स्क्रिन समय कति भन्ने बारेमा अमेरिकन एकेडेमिक अफ पेडियाट्रिकले एउटा गाइडलाइन तयार गरेको छ । जस अनुसार ०–२ वर्षसम्मका बच्चाहरुलाई भिडियो कलबाहेक अन्य समयमा स्क्रिन देखाउनु हुदैन । २ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई दैनिक १ घण्टाभन्दा कम समयको लागि गुणस्तरीय कार्यक्रमहरु देखाउन सकिन्छ । सो उमेर समूहभन्दा माथिका व्यक्तिहरुले आफ्नो शरीर,, दिमाग, काम, व्यवसाय, सामाजिक र पारिवारिक सम्बन्ध साथै नियमित दैनिक क्रियाकलापलाई असर नपर्ने गरी निश्चित दुरीमा रहेर पर्याप्त उज्यालो भएको ठाउमा बसेर निश्चित स्क्रिन समय बिताउन सक्ने छन् ।

स्क्रिन समय कसरी व्यवस्थित गर्ने ?

१) समय सीमा निर्धारण : घरका सम्पूर्ण सदस्यले दैनिक निश्चित स्क्रिन समय निर्धारण गर्ने र त्यसको पूर्णरुपले पालना गर्ने ।

२) सकारात्मक सामग्रीको चयन गर्ने : सृजनात्मक, सकारात्मक र शैक्षिक सामग्रीमा ध्यान दिएर स्क्रिन समय बिताउनाले उत्पादकत्व/उत्पादनशीलता समेत बढाउन सकिन्छ । यसमा अभ्यस्त भइसकेपछि अन्य नचाहिने सामग्रीतिर मन जाँदैन र समय समेत जोगाउन सकिन्छ ।

३) शारिरीक सक्रियता वा गतिविधिमा भाग लिने : यसले स्क्रिन समयको सट्टा बाहिर घुमफिर गरेर, खेल खेलेर वा शारीरिक अभ्यास गरेर पनि मनोरञ्जन गर्न सकिन्छ भनेर महसुस गराउँछ ।

४) दैनिक केही समय परिवारको लागि छुट्याउने : यसो गर्दा पारिवारिक सद्भाव पनि बढ्छ र स्क्रिन समय पनि घट्छ । साथसाथै घरको कुनै भाग जस्तै खानाखाने ठाउँ, सुत्ने ठाउँ वा जमघट हुने कुनै भागलाई ‘नो स्क्रिन जोन’ भनेर छुट्याउने र सो नियमलाई सबैले पालना गर्दा पनि स्क्रिन समय घटाउन सकिन्छ ।

५) नियमित अन्तरालमा स्क्रिनबाट टाढा रहने : यदि पेशागत हिसाबले पनि स्क्रिनमा नै काम गर्नुपर्ने भएमा नियमित अन्तरालमा स्क्रिनबाट टाढा रहने जसले आखाको थकान कम गर्न र मानसिक स्वास्थ्यमा सुधार ल्याउन पनि महत्वपूर्ण भूमिका खेल्छ ।

अतः स्क्रिन समय व्यक्तिगत र व्यावसायिक जीवनमा अपरिहार्य भएको वर्तमान परिप्रेक्ष्यमा यसको प्रयोग र व्यवस्थापनमा सन्तुलन राख्नु अत्यन्त जरुरी छ । स्वस्थ, सन्तुलित र गुणस्तरीय जीवनको लागि बेलैमा सचेत भएर स्वस्थ स्क्रिन समयको सदुपयोग गरौँ । धन्यवाद ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू