कथामा भेटौँला

गीत हौ तिमी गीत म पनि गीतमा भेटौँला
चिताए जति पु¥याएपछि चितामा भेटौँला
कालले हाम्लाई छुटायो भने कलामा भेटौँला
कथामा कैल्यै छुट्दैनौँ हामी कथामा भेटौँला ।

देखाऊन् अरु देखिऊन् अरु जस्लाई छ देखाउनु
हामीले हाम्लाई देखी त हाल्यौँ कस्लाई छ देखाउनु ?
तिमीमा मैले देखेको सुख कसरी देखाउनु ?
रुखको बिउले बिउमा रुख कसरी देखाउनु ?
देखियोस् फूल हामी चाहिँ तल जरामा भेटौँला
कथामा कैल्यै छुट्दैनौँ हामी कथामा भेटौँला ।

दुनियाँदारी दुना टपरी गाँसेको जस्तै हो
खाइसकेपछि दुना टपरी के गर्छन् त्यस्तै हो
गाँसौला हामी दुना टपरी मनको सिन्काले
हुँदैन जुठो छुँदैन छिट्टै फालिने चिन्ताले
हावाले छुँदा हाम्रो गीत गाउने पातमा भेटौँला
कथामा कैल्यै छुट्दैनौँ हामी कथामा भेटौँला ।

भोज खान आउँछन् आउँदैनन् हामी हुँदामा बिरामी
किन पो चाहियो बाँच्दाका जन्ती मर्दाका मलामी
यो जाबो जीवन बाँच्नका लागि पर्याप्त छौँ हामी
किन पो चाहियो बाँच्दाको जन्ती मर्दाका मलामी
हामीमा हामी होमिन सक्ने स्वाहामा भेटौँला
कथामा कैल्यै छुट्दैनौँ हामी कथामा भेटौँला ।

भावीले भाग्य लेख्दैन हाम्रो लेखाउँछ हामीलाई
मबाट शब्द लैजाउ भनी देखाउँछ हामीलाई
जुन शब्दभित्र अटाउँछौँ हामी त्यै शब्द छानौँंला
जुन वाक्य हामी बनाउँछौं त्यसलाई जिन्दगी मानौँंला
भाषाले हाम्लाई भेटायो हामी भाषामा भेटौँला
कथामा कैल्यै छुट्दैनौँ हामी कथामा भेटौँला ।

हामीले लेख्यौँ हामीलाई लेख्यौँ के चाहियो हामीलाई
लेखेर बाँच्यौ बाँचेर लेख्यौँ जे चाहियो हामीलाई
यसरी हामी बाँचौँला भन्ने छ यौटा कल्पना
अघाउँदैनौँ एक–अर्काेसँग करौडौँ कल्पमा
सुरु र अन्त्य पर्याप्त छैन सदामा भेटौँला
कथामा कैल्यै छुट्दैनौँ हामी कथामा भेटौँला ।

दुई वटा नदी बनाई हाम्लाई बगायो जीवनले
क्यै वर्षसम्म दुई वटा जीवन भोगायो जीवनले
दोभान भैहाल्यौँ जीवनले हाम्लाई छुट्याउन सकेन
त्यो दोभानपछि कुन नदी कुन हो छुट्याउन सकेन
बनाई वाफ छुटायो भने वर्षामा भेटौँला
कथामा कैल्यै छुट्दैनौँ हामी कथामा भेटौँला ।

नहुँदा सँगै हामीलाई एउटै सङ्गतले कसौँला
जोडी नै बनी जोडिउँला तर अलग्गै बसौँला
दुई वटा आली बनेर एउटै गरामा बसौँंला
देब्रे र दाहिने पखेटा बनी चरामा बसौँला
चराले गाउने गीतका मीठा भाकामा भेटौँला
कथामा कैल्यै छुट्दैनौँ हामी कथामा भेटौँला ।

ल्याउँदिन मैले नल्याउनू तिम्ले मान्छेलाई बिचमा
मान्छेले गर्दा मर्दछ माया मान्छेकै बिचमा
मान्छेलाई किन चिनाउनू हाम्लाई मान्छेले चिन्दैन
ईश्वरले पनि मान्छेलाई आफू चिनाउँदै हिन्दैन
ईश्वरले हाम्लाई चिन्दछ उस्कै काखमा भेटौँंला
कथामा कैल्यै छुट्दैनौँ हामी कथामा भेटौँला ।

बोलायो कस्ले यी मान्छेलाई यो हाम्रो चाड हो
दुई जना मान्छे एक मान्छे टाढा सबभन्दा टाढा हो
मान्छे के मान्छन् हामी दुई बिचमा आइपुग्यो कसरी ?
आफूलाई मारी मलामीलाई बचाए जसरी !
यत्तिका मान्छे छिचोली तिम्लाई कहाँ म भेटौँला ?
कथामा कैल्यै छुट्दैनौँ हामी कथामा भेटौँला ।

बेला भो मेरो याँबाट जाने सक्कियो भरम
छिट्टै नै अब पुग्छु म मेरो साँच्चैको घरमा
तिमीले पनि यहाँका खेल खेलेर आउनू
झेली छन् खेल झेली छन् नियम झेलेर आउनू
यताका खेल सकेसी उता खोलामा भेटौँला
कथामा कैल्यै छुट्दैनौँ हामी कथामा भेटौँला ।

भोग्दै थेँ बल्ल भागमा तिमी पर्नुको आनन्द
भोग्नैथ्यो बाँकी तिमीलाई निको पार्नुको आनन्द
आउँदैथ्यो बल्ल सकेको जति गर्नुको आनन्द
आइलाग्यो मलाई बाँच्नुको दुःख मर्नुको आनन्द
आनन्द मेरो निदायो अब सप्नामा भेटौँला
कथामा कैल्यै छुट्दैनौँ हामी कथामा भेटौँला ।

ब्युँझिँदा तिम्लाई केही दिन लाग्ला सबैथोक बिरानी
गर्धनमा तिम्रो नहोला मेरो हातको सिरानी
बाँचुन्जेल पनि के हो र मान्छे जिउँदो खरानी !
आउनू त्यहाँ मर्दैन जहाँ हातको सिरानी
तर्सिनु जहाँ पर्दैन त्यही निद्रामा भेटौँला
कथामा कैल्यै छुट्दैनौँ हामी कथामा भेटौँला ।

नपत्याउनू मबारे तिम्लाई मान्छेले भनेको
मान्छे हुँ तर थिइँन मात्र मान्छेले बनेको
मबारे तिम्रो छातीलाई सोध्नू छातीले ढाँट्दैन
थिएँ म तिम्रो छातीको साथी साथीले ढाँट्दैन
मलामीहरू गैसकेपछि मेलामा भेटौँला
कथामा कैल्यै छुट्दैनौँ हामी कथामा भेटौँला ।

म गएपछि बनेका गीत सुनेर आउनू
वाँ पुगेपछि सुनाउँछु उस्लाई भनेर आउनू
गीतमा सास फेरेका शब्द टुहुरा नबनून्
मलाई बुझ्ने ऊमात्रै थियो शब्दले नभनून्
बाँचुन्जेल गीत बाँचुँला नि त गीतमा भेटौँला
कथामा कैल्यै छुट्दैनौँ हामी कथामा भेटौँला ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू