यी हुन् खाना खाँदा ध्यान दिनु पर्ने दस कुरा

एटुजेड समाचार

खानेकुराले नै हाम्रो प्राण जोगाएको छ । खानेकुरा खाएनौँ भने हाम्रो प्राण धेरै समय टिक्दैन । हामी जस्तो खानेकुरा खान्छौँ, हाम्रो शरीर र मन त्यस्तै हुन्छ ।

भोजनका निम्नलिखित दस नियम हामीले पालना गर्नुपर्छ । यसले हामीलाई स्वस्थ र निरोगी हुन सहयोग गर्छ ।

१. समयमा खाने

एउटै समयमा खाना खानुपर्छ । निश्चित समयमा खाना खाँदा जठराग्निले पेटमा भएको खाना सजिलै पचाउँछ । त्यसैले खानेकुरा जहिले पनि निश्चित समयमा नै खानुपर्छ, न समयअघि न पछि । कसैले केही न केही खाइरहन्छन् भने पनि समस्या हुनसक्छ । पहिले खाएका कुरा नपच्दै अरू खानेकुरा खाँदा अपच भएर रोग लाग्न सक्छ ।

२. सफा भएर खाने

धेरै जसो बच्चा बाहिरबाट आएर सीधै भान्सामा गएर खानेकुरा खाने गर्दछन् । सफा–सुग्घर भएर खाना खानुपर्छ । खाना खानु अघि हात–खुट्टा, मुख राम्ररी धुने, कुल्ला गर्ने गर्नुपर्छ । खाना खानुअघि खुट्टा धुँदा जठराग्नि बलियो बन्छ र खानेकुरा राम्ररी पचाउँछ ।

३. घ्यु वा तेलयुक्त सजिलै पच्ने खाना खाने

हामीले खाने खानामा घ्यु अथवा तेल हुनुपर्छ । किनभने हाम्रो शरीरमा एउटा कोष बन्न ४२ प्रतिशत घ्यु अथवा तेल चाहिन्छ । त्यसमा पनि सजिलै पच्ने खानेकुरा खानुपर्छ ।

४. खानामा एकाग्रचित्त हुने

खाना खाँदा एकाग्रचित्त (खानामा मात्रै ध्यान दिएर) खानुपर्छ । खाँदा अन्य कुरा हेरेर, सुनेर खानु हुँदैन । आजकल भोजन गर्दा टिभी, मोबाइल हेर्ने गरेको पाइन्छ । त्यसो गर्न हुँदैन ।

५. छ रसका खाना खाने

खाना खाँदा ६ प्रकारका खाना खानुपर्दछ । जस्तै– गुलियो, नुनिलो, अमिलो, तीतो, पीरो, टर्राे खानेकुरा हाम्रो शरीरलाई आवश्यक पर्दछ । यी ६ प्रकारका रस मीठो नलागे पनि मात्रा मिलाएर खानुपर्छ ।

६. धेरै छिटो–छिटो र ढिलो नखाने

खाना खाँदा धेरै छिटो–छिटो वा धेरै बिस्तारै खानुहुँदैन । छिटो खाँदा खानेकुराको स्वाद नै थाहा नहुन सक्छ । छिटो खाँदा राम्ररी नचपाइने भएकाले ठोस पदार्थ पच्न गाह्रो हुन्छ । त्यसैले एक गाँस खाँदा कम्तीमा पनि ३२ पटक चपाएर मात्र निल्नुपर्छ । लगभग २० मिनेटभित्र खाना खाइसक्नुपर्छ ।

७. नुहाएपछि खाने

नुहाएपछि मात्र खानुपर्छ । जसले खाना खाने बित्तिकै नुहाउँछन् उनीहरूलाई आमवात (आउँको विकारबाट शरीरका विभिन्न भाग दुख्ने र जोर्नी सुनिने एक प्रकारको रोग) हुनसक्छ । खाना खाएको कम्तीमा ३ घण्टापछि भने नुहाउन सकिन्छ ।

८. भोक लागेपछि मात्र खाने

जब भोक लाग्छ अनि मात्र खाना खानुपर्छ । भोक नलाई खाँदा अपच हुन सक्छ ।

९. शान्त वातावरणमा खाने

एकान्तमा बसेर खाना खानुपर्छ । भोजन गर्दा वातावरण शान्त हुनुपर्छ ।

१०. निन्दा नगरी खाने

सकेसम्म नबोली खाना खानुपर्छ । धेरै बोलेर खानुहुँदैन । खाँदा परिवार तथा साथीहरूसँग बसेर शान्त भएर खाँदा राम्रो हुन्छ । खाना खाँदा यो पुगेन, त्यो भएन भन्ने बानी पनि कसैको हुनसक्छ । यस्तो गर्न हुँदैन ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू