काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गर्यो । जिम्मी निशमले २४ बलमा ६५ रन बनाए पनि १ सय ८१ रनको लक्ष्य लिएर आएको जनकपुर १८ ओभरमा १ सय ४८ रनमा अलआउट भयो ।
चितवनले यस विजयसँगैं प्लेअफमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । राउन्ड रोबिन लिगको सबै ७ खेल खेलिसकेको चितवनको ८ अंक रहेको छ । १० अंकसहित पहिलो स्थानमा रहेर प्लेअफमा स्थान निश्चित गरिसकेको जनकपुरले क्वालिफायर्स १ मा पुग्ने मौका तत्काललाई गुमाएको छ । यो सम्भावनाका लागि जनकपुरले अब अरु टोलीको नतिजामा भर पर्नु पर्ने हुन्छ ।
सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र चितवनको समान ८ अंकसहित क्रमशः दोस्रो देखि चौथो स्थानमा छन् । काठमान्डु गुर्खाज ६ अंकसहित पाँचौं स्थानमा छ । चितवनको यस विजयले विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्लेअफको औपचारिक दौडबाट बाहिरिएका छन् ।
टियू मैदान कीर्तिपुरमा चितवनले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा अलआउट हुँदै १ सय ४८ रनमा समेटियो । उसका लागि न्युजिल्यान्ड्का स्टार जिमी निसमले २४ बलमा ६५ रनको इनिङ्स खेले पनि टिमको लक्ष्य भेटाउन पर्याप्त रहेन । उनले आफ्नो विष्फोटक इनिङ्समा ५ चौका र ६ छक्का प्रहार गरेका थिए । थप दोहोरो स्कोरक रुपमा आसिफ शेखले २३ रन बनाउँदा मोहम्मद मोहसिनले १३ रन बनाएका थिए ।
चितवनका लागि रिजन ढकाल, सोहिल तनवीर र कुशल मल्लले २–२ विकेट लिए भने अर्को एक विकेट अमर रौटेलाले लिएका थिए।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो। उसका लागि कप्तान कुशल मल्लले ४१ बलमा ३ चौका र ७ छक्का प्रार गर्दै ७२ रनको सानदार अर्धशतकीय इनिङ्स खेलेका थिए। त्यस्तै, उनलाई रवि बोपराले गतिलो साथ दिए। बोपरा ३२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४४ रनमा आउट भए।
५५ रन जोड्दा ३ विकेट गुमाएको चितवनका लागि कुशल मल्ल र रवि बोपराले चौंथो विकेटका लागि १ सय १३ रनको सानदार साझेदारी गरेका थिए। यी दुईबीचको शतकीय साझेदारीमा चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको स्कोर तयार गरेको थियो। जितसँगै चितवनले ८ अङ्क बनाएको छ।


