काठमाडौँ – चितवन राइनोजले एनपीएलमा जनकपुर बोल्टसलाई १८१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको चितवनले कुशल मल्लको ७२ रन मद्दतमा पाँच विकेट गुमाएर १८० रन बनाएको हो ।
मल्लले ४१ बल खेल्दै ३ चौका र ७ छक्का प्रहार गरे । रवि बोपाराले ४४ र हसन इसाखिलले २८ रन जोडे । विष्फोटक ब्याटिङ गरेका कुशल मल्लले रवि बोपारासँग चौथो विकेटका लागि ११३ रनको साझेदारी गरेका थिए । एनपीएलमा भएको यो दोस्रो शतकीय साझेदारी हो भने चौथो विकेटका लागि उच्च साझेदारी हो । यसअघि लुम्बिनीका रोहित पौडेल र टम मुर्सले पोखरा एभेन्जर्सविरुद्ध चौथो विकेटका लागि ११० रनको साझेदारी गरेका थिए ।
बलिङमा जनकपुरका लागि ललित राजवंशीले २ विकेट लिए । अन्य बलरहरु महँगा बन्दा ललितले किफायती बलिङ गर्दै ४ ओभरमा २ ओभर मेडन राखेर जम्मा ११ रन खर्चिए । उनले आफ्नो सुरुको दुई ओभर नै मेडन राखेका थिए । चार ओभर स्पेलमा जम्मा एक चौका खर्चेका थिए ।