चितवन – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भरतपुर महानगर समितिले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन आउने भएका छन् । माओवादी केन्द्रले मंगलबार मध्याह्न भरतपुरको चौबिसकोठीमा खबरदारी सभा आयोजना गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चितवनका संयोजक रामचन्द्र अधिकारीले मुलुकमा विद्यमान बेथिति, भ्रष्टाचार, महँगी र सरकारको जनविरोधी कदमका विरुद्ध खबरदारी सभा आयोजना गरिएको जानकारी दिए । उनले नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्य रहने खबरदारी सभामा सहभागी हुन सम्पूर्ण जनसमुदायमा आग्रह गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भरतपुर महानगर समितिका अध्यक्ष ईश्वर सापकोटा सुमनले खबरदारी सभामा भरतपुर महानगरका २९ वटै वडा र अन्य पालिकाबाट समेत नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताहरुको विशाल उपस्थिति रहने जानकारी दिए । नेकपा (माओवादी केन्द्र) ले यसअघि गत कात्तिक १० गते काठमाडौँमा खबरदारी सभा आयोजना गरिसकेको छ ।