चितवन – गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको ३१ औं साधारण सभा भरतपुरको पर्यटकीय नगरी पटिहानीमा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षता र भरतपुर महानगरपालिका वडा नं. २२ का अध्यक्ष विष्णुराज महतोको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि महतोले समग्र भरतपुरलाई दूधको हब बनाउने कार्यमा गंगानगर दुग्ध सहकारीको विशेष योगदान रहेको भन्दै प्रशंसा गरे । भरतपुरलाई दूधमा आत्मनिर्भर बनाउन महानगरपालिकाले जोड दिँदै युवाहरुलाई दुग्ध व्यवसायमा सहभागी बनाउन अनुदान दिँदै आएको उनको भनाइ थियो । वडा नं. २२ लाई कृषि पर्यटनको पनि गन्तब्य बनाउन गंगानगर सहकारी जस्ता संस्थाको परामर्शमा बजेट ब्यवस्थापन गर्दै आएको वडाअध्यक्ष महतोले बताए ।
साधारण सभाको अवसरमा जग्गादाता गायत्री सापकोटा, एसईईमा उत्कृष्ट अंक ल्याउने प्रविना खत्री र सक्षम दवाडी, सरसफाईतर्फ बसुन्धरा पौडेल, रमा पौडेल, विष्णुमाया काफ्ले, गुणस्तरतर्फ रमा वि.क., गंगामाया आले मगर, विक्रम थापा, क्षेत्रगततर्फ लोकबहादुर वि.क., शोभा खत्री विश्वकर्मा, रिता वि.क.लाई सम्मान गरिएको थियो । यसैगरी १६ जना वृद्धवृद्धा र घासँखेती गर्ने १६ जना कृषकलाई पनि सम्मान गरिएको थियो ।
२०४९ सालमा स्थापना भएको गंगानगर दुग्ध उत्पादक सहकारीले आर्थिक र सामाजिक गतिविधिका कार्यक्रमहरु नियमित रुपमा गर्दै आइरहेको संस्थाका अध्यक्ष सापकोटाले बताए । उनले शेयर सदस्यका सन्तानले पशु प्राविधिक शिक्षा पढेमा २५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराइने जानकारी गराए । सरकारले दुग्ध उत्पादक किसानले पाउनुपर्ने रकम समयमै उपलब्ध नगराएका कारण किसानले दूध सडकमा पोख्नुपर्ने बाध्यता आइपरेकोले यसतर्फ गम्भीर बन्न अध्यक्ष सापकोटाले अनुरोध गरे ।