चितवन – श्री ईन्द्रग्राम पुनर्मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २८औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ ।
भरतपुर महानगरपालिका वडा नं. ६ स्थित अमरज्योति स्कुलमा भएको साधारण सभामा संस्थाका अध्यक्ष पुष्पराज न्यौपानेको अध्यक्षता र जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष भक्तिराम अधिकारीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले मुलुकको आर्थिक समृद्धि, सामाजिक न्याय तथा गरिबी न्यूनीकरणका लागि सार्वजनिक, निजी र सहकारी क्षेत्रसहितको तीनखम्बे अर्थनीति स्वीकार गर्दै सहकारीलाई जिम्मेवार भूमिका निर्वाह गर्न अनुरोध गरे । उनले नीति, विधि र प्रविधिमार्फत सुशासनयुक्त संघसंस्था निर्माण गर्नु सहकारीकर्मीहरुको धर्म रहेको बताउँदै सोहीअनुसार श्री ईन्द्रग्राम पुनर्मिलन सहकारीले आफ्ना गतिविधि गरिरहेको बताए ।
साधारण सभाको अवसरमा संस्थाका जेष्ठ सदस्यहरु सोमलाल न्यौपाने, रामचन्द्र देवकोटा, विष्णुमाया कार्की, कृष्णमाया गुरुङ, मनमाया ढकाल, रामकृष्ण पोख्रेललाई सम्मान गरिएको थियो । त्यस्तै विद्यावारिधी उत्तीर्ण शेयर सदस्य अञ्जन न्यौपाने, एसईईमा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने प्रविना खत्री, सचिन घिमिरे, अभि खनाल, सुजिता पौडेल र उत्कृष्ट कर्मचारीका रुपमा सजिसा भुजेललाई सम्मान गरिएको थियो ।
२०५३ सालमा स्थापना भएको यस सहकारीले न्यून आय भएका सदस्यहरुलाई पहिलो प्राथमिकता दिई सदस्यहरुको आर्थिक, सामाजिक, विकासमा कार्य गर्दै आइरहेको संस्थाका अध्यक्ष न्यौपानेले बताए । उनले जीवन सुरक्षा रकम शेयर सदस्यहरुलाई सञ्चालक शेयर सदस्यतर्फ ५० हजारबाट बढाएर ६० हजार, लघुवित्ततर्फ सदस्यको मृत्यु भएमा ४० हजार, सदस्यको श्रीमानको मृत्यु भएमा १४ हजार र पहिलो बच्चा जन्मिँदा ३ हजार ५ सय, दोस्रो बच्चा जन्मिँदा २ हजार ५ सय प्रदान गरिने जानकारी दिए ।
संस्थाका सचिव किशोर पौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरुलाई बचत गर्ने बानीको विकास गराउँदै व्यावसायिक बनाउन ध्यान दिएको बताए । उनले सदस्यहरुको आयआर्जनमा वृद्धि गर्दै आत्मनिर्भर र गरिबी न्यूनीकरणमा योगदान दिने संस्थाको प्रमुख उद्देश्य रहेको जानकारी गराए ।
सहकारीमा २ हजार ७ सय २ जना शेयर सदस्य र ३ सय ६० जना बाल बचतकर्ता रहेको व्यवस्थापक गीतादेवी घिमिरेले जानकारी दिइन् । उनले यस वर्ष संस्थाले २४ लाख २१ हजार नाफा गरेको बताइन् । भरतपुर महानगरपालिका वडा नं. ६ मा मुख्य कार्यालय रहेको संस्थाको भरतपुर महानगरपालिका वडा नं. १६ ठुलोगढीमा पनि सदस्य सेवा केन्द्र रहेको छ ।