पोखरा – एक साताअघि मात्र विवाह बन्धनमा बाँधिएकी अभियन्ता गिभिना मगरलाई अकल्पनीय बज्रपात परेको छ । उनले २४ घण्टाको अन्तरालमा आमा र भाइलाई गुमाएकी छन् । गिभिनाकी आमाको शुक्रबार सवारी दुर्घटनामा मृत्यु भएको थियो । लगत्तै शनिबार भाइले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका–२५ म्याम्दीमा ग २ ख १४६० नम्बर ट्रकले जेब्रा क्रसिङमा ठक्कर दिँदा गिभिनाकी आमा ५५ वर्षीया धनकुमारी बुढाको मृत्युु भएको थियो । टाउकोमा गम्भीर चोट लागेको अवस्थामा धनकुमारीलाई पोखराको मणिपाल अस्पताल पुर्याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषित गरे । सोही घटना घटेको २४ घण्टा नपुग्दै भाइ घरभित्रै मृत भेटिएका हुन् । उनलाई आज बिहान झुण्डिएको अवस्थामा फेला पारिएको थियो । गिभिनाका भाइले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टि गर्यो । आत्महत्याको कारण खुलाइएको छैन । गिभिना गत मंसिर ८ गते विवाह बन्धनमा बाँधिएकी थिइन् । उनले आज टिकटक लाइभमा आएर आफ्ना क्रन्दन सुनाइन् ।