आजदेखि एनपीएल, उद्घाटन खेलमा विराटनगर र जनकपुर खेल्दै

एटुजेड समाचार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि टीयु क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजना सुरु भएको एनपिएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन् । एनपिएल खेल्न भारतीय क्रीकेटर शिखर धवनदेखि न्यूजिल्यान्डका मार्टिन गप्टिलसम्म नेपाल आएका छन् ।

एनपिएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स सहभागी छन् ।

एनपिएलको अक्सनमार्फत १० खेलाडी भित्राएका प्रत्येक टोलीले ४(६ विदेशी खेलाडी अनुबन्ध गरेका छन् । एक जना मार्की प्लेयर र एक आइकोनिक खेलाडीको रुपमा एनपिएल खेल्नेछन् ।

समूह चरणमा प्रत्येक टोलीले ७ खेल खेल्नेछ । शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन् । दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित हुने टोली र एलिमिनेटरबिच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल पुस ६ गते हुनेछ ।

आज हुने उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स खेल्नेछन् । उक्त खेल दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ । विराटनगरको कप्तानी सन्दीप लामिछाने र जनकपुरको कप्तानी अनिलकुमार शाहले गर्नेछन् । खेलको प्रत्यक्ष प्रशारण टेलिभिजनमा स्टार स्पोर्ट्स र युट्युवमा एक्सन स्पोर्ट्सबाट हुनेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू