चितवन – पश्चिम चितवनको दिव्यनगर स्वास्थ्य चौकीको २ तले भवनको बिहिबार शिलान्यास गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभयो ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुरमा रहेका अधिकांश अस्पताल सदामुकाम केन्द्रित रहेकाले जनताको घरघरमै सेवा पुराउन दिव्यनगरमा नयाँ स्वास्थ्य चौकी निर्माण गर्न लागेको बताउनुभयो ।सामान्य भन्दा सामान्य उपचार गर्न १ दिनको समय लिएर सदारमुकाम जानुपर्ने विगतको अवस्था स्वास्थ्य चौकी निर्माण भएपछि हटेर जाने विश्वास व्यक्त गर्नुभयो ।
संघीय गणतन्त्रको मर्म र भावना अनुसार महानगरपालिकाले एक वडा एक स्वास्थ्य संस्था निर्माण गर्ने कार्यलाई निरन्तरता दिइरहेको उहाँको भनाइ थियो । प्रमुख दाहालले वडामा रहेका पुराना स्वास्थ्य चौकीको स्तरोन्नित गर्ने, जनशक्तिको उचित व्यवस्थापन, स्वास्थ्य चौकी नभएको ठाँउमा स्वास्थ्य चौकी निर्माण गर्ने कार्य महानगरले विगतदेखि नै गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा उपप्रमुख चित्रसेन अधिकारीले निर्माणाधिन स्वास्थ्य चौकी भवनको निर्माणले यस क्षेत्रका नागरिकले प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने भन्दै समयमै गुणस्तरीय ढंगले निर्माण कार्य अगाडि बढाउन आग्रह गर्नुभयो । भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न यो स्वास्थ्य केन्द्र सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
मुल्य अभिवृद्धि करसहित रु १ करोड ६८ लाखमा ठेक्का सम्झौता भएको भवन आगामी जेठ महिनासम्म निर्माण सम्पन्न गर्नुपर्ने छ । यो भवन निर्माण भएसँगै पश्चिम चितवनवासीको घरदैलोमा थप स्वास्थ्य सेवा पाउने छन् । निर्माणको जिम्मा देउराली शर्मा जेभिले पाएको छ । स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर, बहुउद्देश्य हल, १४ वटा कोठा रहने छन् । शिलान्यास कार्यक्रम वडा अध्यक्ष ज्ञानप्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।