डोल्पा – डोल्पाको तापक्रम निरन्तर घटे पनि नीलो हीराका रूपमा परिचित देशको सबैभन्दा गहिरो शे–फोक्सुण्डो तालमा आन्तरिक एवम् बाह्य पर्यटकको सङ्ख्या बढेको छ ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार गएको साउनदेखि कात्तिकसम्ममा स्वदेशी र विदेशी गरी एक हजार ६ सय ३२ पर्यटक फोक्सुण्डो ताल क्षेत्रमा आएका छन् । बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटक धेरै छन् ।
पाँच महिनामा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्र र अन्य राष्ट्रका गरी तीन सय २६ जना पर्यटकले शे–फोक्सुण्डो घुमेका र त्यसबाट १० लाख ५३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको अर्यालले बताउनुभयो ।
फोक्सुण्डो ताल, त्रिपुरासुन्दरी मन्दिर, शे–गुम्बा, धो तरापजस्ता सुन्दर धार्मिक तथा पर्यटकीय गन्तव्य डोल्पामै पर्ने भएकाले केही वर्षयता आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको त्रिपुरासुन्दरी नगरपालिका–१ का लक्ष्मण देवकोटाले बताउनुभयो ।
नेपालगञ्ज–डोल्पा उडान नियमित गरेमा, भेरी करिडोरको सुधार तथा सुविधायुक्त होटलको व्यवस्था भएमा पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि हुने उहाँको भनाइ छ ।रासस