उपेन्द्र त्रिपाठी व्यक्तिभन्दा म नचिन्न सक्छु । म कविताको सामान्य पाठक । सकेसम्म अनुभूतिलाई विचारमा मिश्रण गरिएको कविता पढ्छु । जीवन विचारविना चल्दैन । जीवन सिर्जनाको अर्को नाम हो । पुरुषका हिसाबले वंश चलाउने वा नारीका हिसाबले गर्भ सफल बनाउनमात्र मान्छेको जन्म हुने होइन रहेछ कि ! एउटा मान्छेसँग भएको प्रतिभाबाट अर्को प्रभावित नभए कसरी बन्छ नवीन विचारको गर्भाधान ।
हातमा एउटा सानो कवितासङ्ग्रह छ । बाध्यता र कक्षा उत्तीर्ण हुन धेरै ठूला ठेली पनि पढियो कुनै दिन तथापि विषयले तानेर होइन । धेरै साथीहरू साहित्य लेख्छन्, उसै दिन खोज्छन् पुस्तक । सक्दासम्म फोसामा पुस्तक कसैले नदिएको राम्रो ठान्छु । अरू कतिपय लेखकहरू त पुस्तक दिइसकेर मुसुक्क हाँस्छन् र प्रतिक्रिया पाऊँ है भन्दछन् । साहित्य आफैँमा जीवन हो र सामाजिक सञ्जाल पनि । जीवनका अनेक आकांक्षाहरूलाई कतिले मनमै दबाएर मार्छन्, कतिले पोख्ने सिपको अभावमा गुमाउँछन् त कतिपयले कवि उपेन्द्र त्रिपाठीले जस्तै आम मान्छेलाई महसुस गराउने गरी वितरण गरिदिन्छन् ‘अक्करे भीरको बाटो हिँडेपछि’मा आफ्ना जीवनका अनुभूतिहरू ।
दोहो¥याउन चाहेको होइन, म उपेन्द्र त्रिपाठी व्यक्तिसँग परिचय भएको पाठक होइन । उनको कविता सम्पूर्ण पुस्तक पसलमा किनेपछि मैले भूमिका पढिनँ । भूमिकाले पाठकलाई सिर्जनाको पाटोपट्टि आग्रही बनाइहाल्छ कि जस्तो लाग्छ । कविता पढिसकेपछि भूमिका पनि पढेँ । कविको राम्रो छवि बनाएका भूपिनको भूमिकाले कविताबारे भन्दा पनि कविको पृष्ठभूमिबारे बुझ्न सहयोग मिल्यो । कविताबारे त आफ्नै पठनको मौलिक बुझाइ राम्रो लाग्यो र अनुभूतिलाई गतिमा भन्न नसक्ने म जस्ता धेरै पाठकलाई कत्ति पनि अलमलमा नपारिकन कविता लेख्न सक्ने क्षमता विकास गरेका रहेछन् ‘अक्करे भीरको बाटो हिँडेपछि’का लेखकले । उनको ‘केही भन्नु थियो’ पनि पढेँ स्वादिलो लाग्यो । ‘कवि भएँ’ भन्ने मान्छेहरू धेृरै छन् । महाकाव्यका ठूला ठेली तयार गर्नेहरू पनि पाठकको प्रतिक्रिया नपाएर पिरलोमा छन् । लामा आख्यान धेरैले पढ्न भ्याउँदैनन् । छोटा कविता भो भन्दैमा मैले मन पराउँछन् भन्ने पनि केही छैन ।
कवि उपेन्द्रले आफ्नै सिर्जना लयलाई पोखेका रहेछन्, “कोही सत्तासँग लडे, कोही समाजसँग लडे । म प्रायः आफैँसँग लडेँ, कठिन समयसँग लडेँ, अदृश्य रोगसँग लडेँ अनि शोकसँग लडेँ । जीवन अक्करे भीरको बाटो हिँडिरह्यो ।” कवितासङ्ग्रहभित्र पनि यही कुरा पाएँ । कवि धेरै बहकिनु पनि राम्रो होइन रहेछ । विचार सन्तुलित लाग्यो । भूपिनको भूमिकाले पनि कवित्व र कविताको कतिपय पक्षमा प्रकाश पारेको पाएँ । यस अर्थमा स्वाद लाग्यो, अक्करे भीरको बाटो हिँडेर पनि त जीवनलाई चिनाउन सकिने रहेछ । कवितासङ्ग्रहभित्र कति कविता छन्, के कस्ता शीर्षक छन् भन्ने कुरा मुख्य होइन रहेछ । कविताको विषय के हो ? अनि कविताले के भनिरहेको छ भन्ने कुरा नै मुख्य विषय हुने रहेछ । कवि त्रिपाठीका पछिल्ला राजनैतिक घटनावलीसँग जोडिएका केही कविताहरू पनि पढेँ, जो कवितासङ्ग्रह प्रकाशित भएपछिका हुन् ।
समकालीन राजनीति, समाजका विसङ्गत पक्ष, मान्छेलाई प्रभावित पारिरहने दैनन्दिनको यान्त्रिक पक्ष अनि आजीविकाका लागि मरिमेट्ने लाखौँ मजदुर र विदेशी भूमिमा पुगेर एक मुठी प्राण बचाउनकै लागि पसिना बगाउनेहरूको विषयले उच्च प्राथमिकता पाएका कविताहरूले ठाउँठाउँमा मान्छेलाई रुवाउने, आक्रोशित तुल्याउने साथै मेरा जस्तै पीडा कविजीलाई पनि परेको रहेछ उनले त कविता लेखे मैले केही गर्न सकेको छैन भनी अलिअलि डाह पनि गर्न मन लाग्ने स्थितिसम्मका कविता पढ्ने मौका मिल्यो । त्यस अर्थमा कवि उपेन्द्र त्रिपाठीलाई मजस्तै कविताका पाठकहरूका तर्फबाट धन्यावाद !
कविले कवितामार्फत् व्यक्त गरेका कविताहरूले हामीलाई मानवीय भावना हराएपछि नै अमानवीय विचार उम्रन्छ र व्यवहार स्थायी बन्छ त्यसैले त्यस्ता अमानवीय व्यवहार अन्त्य गर्न आह्वान गरेका छन्;
घोक्रो फुलाएर भन्छु
सबैले सुनून्
गेहेन्द्रशम्शेर नेपालका प्रथम वैज्ञानिक थिएनन्
प्रथम वैज्ञानिक त
कुनै कान्छा कामी थिए
या जेठा कामी थिए
जसको हातमा कलम थियो
उनीहरूले यो इतिहास लेखेनन्
र जसको आरनमा हतियार थियो
उनीहरूले किन नलेखेको भनेर गर्धनमा हानेनन्
र यो दुषित इतिहास चल्दै गयो ।
(लज्जित छु, अक्करे भीरको बाटो हिँडेपछि, पृ. १६)
दलन र उत्पीडन मात्र होइन छुवाछुतको आधार के हो ? लेखिएको झुट इतिहास पढाएर र पढेर अझै असमानताको पक्षमा अन्धभक्त बन्ने हामीले हाम्रा वास्तविक इतिहास खोज्ने हो भने काम नगरी खानेको इतिहास मेटेर श्रमको इतिहास लेख्न पर्दछ । हामी सबैलाई लज्जित बनाउने संस्कृति नामको कलङ्क जति राख्यो त्यति नै समाज बर्बादीतर्फ लाग्छ;
गाग्री चल्छ, पानी चल्दैन
थाल चल्छ, भान्सा चल्दैन
पसिना चल्छ, घर चल्दैन
मूर्ति चल्छ, मन्दिर चल्दैन
यो कस्तो रीत हो ?
यो कस्तो दलन हो ?
म लज्जित छु यस्तो आस्थादेखि
म लज्जित छु यस्तो इतिहासदेखि
म लज्जित छु
विना प्रश्न यी सब स्वीकारिरहेको
आफैँदेखि ।
(लज्जित छु, अक्करे भीरको बाटो हिँडेपछि, पृ. १७)
हामी हजारौँ तथाकथित शिक्षितहरूले गर्न नसकेको काव्यिक वर्णन र मर्मस्पर्शी अभिव्यक्ति कवि उपेन्द्र त्रिपाठीले गरेका छन् । हाम्रो मन मस्तिष्कमा रहेको मनुवादी चिन्तन नफालेसम्म हामीले शिर ठाडो गरेर हिँड्न सक्ने अवस्था छैन । हामी आफैँलाई सभ्य त भन्दै हिँडिरहेछौँ तर हाम्रो सभ्यताको जरा कहाँ छ ? हामीलाई कसले सिकाएको छ यो अमानवीय सभ्यता अनि हामी पछ्याइरहेका छौँ ? त्यसैगरी ‘भट्टी’ शीर्षकको कवितामा कविले पस्केको विचार र शैलीले नेपालीले बनाइरहेको नकारात्मक सोचको स्रोत खल्बल्याइदिन सक्छ । कवि म पात्रमार्फत् सत्य विषयलाई खुल्ला रूपमा प्रकट गर्दै भन्छन्;
जाऊ नजाऊ भट्टी तिम्रो कुरा
तर, कता कता लाग्छ मलाई
मन्दिर जत्तिकै भट्टी पवित्र छ ।
(भट्टी, अक्करे भीरको बाटो हिँडेपछि, पृ. २२)
हुन पनि हो मन्दिर, मस्जिद, गुम्बा अनि चर्चमा जति विसङ्गति र विकृतिको मुहान बनेको छ त्योसँग तुलना गर्न कहाँ मिल्छ र भट्टीलाई । भट्टी त निम्न वर्गका मानिस (श्रमिक)हरूले मन बहलाउने ठाउँ हो । यसले आम मान्छेलाई मनोरञ्जन थलो र एउटा उपचार कक्षको काम पो गरेको छ । कम्तीमा मान्छेको जीवनका यावत् पीडा पोखिन्छन् यहाँ । मदिराले गर्ने घातक असरलाई प्रश्रय दिन खोजेको होइन । आफूलाई महान् ठान्नेहरूले अपारदर्शी ढङ्गले पशुपतिदेखि लुम्बिनीका नाममा सुन चढाउने र लुङ्दर जलाउने गरेकै छन् । यहाँ धेरै विषय जोडिन्छन् । कविताले थोरैमा धेरै बोलेको छ । आखिर लोकतन्त्रका नाममा हुने अनेक सम्झौता तारे होटेल अर्थात् सामन्तीका भट्टीमा नै हुने त हुन् ।
त्यो निम्नजिवी पनि
औंलो ठड्याउँदै गर्जिएको
सबैभन्दा महँगो रक्सी खाने ठालु भन्नेहरूसँग
उनीहरूकै टेबुल ठोक्दै टक्कर लिएको
आत्मसम्मान र आफ्नो इतिहासको पक्षमा उभिएको ।
(भट्टी, अक्करे भीरको बाटो हिँडेपछि, पृ. २२)
म झल्यास्स सम्झिन्छु बैरागी काइँलाको कविता ‘मातेको मान्छेको भाषण मध्यरातको सडकसँग’ । एउटा उन्मुक्त विषयको प्रस्तुति जतिसुकै दमन, उत्पीडन र छुवाछुतको व्यवहार समाजमा होस् भट्टी त्यसको विपक्षमा छ । त्यो खुल्ला संसद जस्तो छ । साँच्चै उपेन्द्रको कविता समाजको ज्वलन्त विषयलाई सकारात्मक हिसाबले थप चर्चा गर्न चाहन्छन् अनि तथ्यको खोजी गर्न सहयोग पु¥याउने ‘भट्टी’लाई नहेप्न तर्क प्रस्तुत गर्दछन् । कवि सबै ठाउँमा आक्रोशको असिना मात्र बर्साउँदैनन् उनी त आपतको आगोले पोलेका घाउहरूमा शब्दको मलमपट्टि पनि लगाउन र निम्न वर्गप्रति सहानुभूति मात्र होइन समानुभूतिका सक्रिय शब्द ओछ्याउँछन् ।
आफ्ना सन्तानप्रतिको आफ्नो जिम्मेवारी रहेको भए पनि सन्तानलाई मनोवैज्ञानिक रूपमा दह्रो बनाउने, कर्मशील बनाउँदै अगाडि बढाउनुपर्ने विषय उनले प्रस्तुत गरेका छन्;
तिमीले आफ्नो दुःख एक्लै भेट्न पर्नेछ
तिमीले आफ्नो खुशी एक्लै समेट्न पर्नेछ
तिमीले आफ्नो यात्रा एक्लै काट्न पर्नेछ
तिमीले आफ्नो युद्ध एक्लै लड्न पर्नेछ ।
(म सधैँ बाँच्दिन छोरा, अक्करे भीरको बाटो हिँडेपछि, पृ. ४५)
जीवनमा प्राप्ति हुँदा रमाउनेमात्र हुँदैन, आशा र अपेक्षा पूरा नहुँदा सुस्केरा हालेर शिथिल पनि बन्नुपर्छ । अनेकखालका विवशतालाई शिरले थामेर हिँड्नुको अर्को विकल्प छैन । त्यसैले त कलाकार जीवन शर्माको गीत जस्तो जीवनमा सङ्घर्ष नै प्यारो हुन्छ र सङ्घर्ष नगरी यात्रा अगाडि नै बढ्दैन । अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई जीवन सिकाउने भनेको सङ्घर्षशील जीवनमा आउने घटनावलीको पूर्व सूचना वा सङ्केत नै हो ।
कवि आफ्नो देशको परिचय क्रमशः हराउँदै गएकोप्रति चिन्तित छन् । देशलाई आफ्नो स्वार्थ पूरा गर्ने नेतृत्व (कर्मचारीतन्त्र र राजनीति नेतृत्व)लाई ध्यानाकर्षण गराउँदै कवि आफ्नो देश नहराओस् भनेर फरक शैलीमा सूचना सम्प्रेषण गर्न पुग्छन् । देश नरहे देशबासी हुन नसक्ने भावमा कविले प्राथमिकताको क्षेत्र अकै भएपछि नेतृत्वले देश बनाउन खोजेको होस् भन्ने ठहर गर्दछन्;
वर्ष दुई सय पचपन्न जत्तिको
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नाम
र, नेपाल थर गरेको देश
जिम्मेवारी जिल्ला र जवाफदेहिता गाउँबाट
हराइरहेको हुँदा
फेला पार्नु हुने महानुभावहरूले
संविधानको भाग तीनमा खबर गरिदिनुहोला
सर्वहारा परिवार ।
(देश हराएको सूचना, अक्करे भीरको बाटो हिँडेपछि, पृ. ७३)
सर्वहाराका नेता भनिएकाहरूबाट देशलाई जोखिम बढेको विषय यहाँ उल्लेख नगरीकनै नेतृत्वले देशलाई परिचयविहिन बनाएको विषय ध्यानाकर्षण गराइएको छ । विश्वमा एउटा मात्र पनि राम्ररी चिनाउने प्राकृतिक स्रोत भएको देशले यो परिचय विहिनता व्यहार्नु पर्दाको पीडा गहिरो छ । हामी आफ्नो जिम्मेवारी र जवाफदेहिताबाट भाग्नाले यो अवस्था भएको कुरामा असहमत हुनुपर्ने ठाउँ नै छैन । कविता प्रस्तुतिमा तथ्य र तर्कको समन्वयात्मक लय मिलेकाले यो निकै मार्मिक समेत बनेको छ । कवि त्रिपाठीले हाम्रो परिचयलाई आधुनिक विकासको नाममा कमिसनको खेलले निम्त्याएको दुश्चक्रप्रति गम्भीर हुन नसकेको कुरा समेत उद्घाटित गरेका छन् । विज्ञानको नाम लिएर आएका अनेक खालका अभियानले चौतारो भत्काएर रेष्टुरेण्ट भित्र्याएको छ । सहकार्य र श्रमको यात्रा टुटेर जीवन यात्रामा मान्छे एक्लो–एक्लो हुँदै गएकोप्रति कवि चिन्तित छन्;
शून्य छ गाउँघर
शून्यमा टोलाइरहेका भेटिन्छन् गाउँका बाआमा
मेरो गाउँ अब गाउँ जस्तो कहाँ रह्यो र !
(मेरो गाउँ अब गाउँ जस्तो कहाँ रह्यो र !, अक्करे भीरको बाटो हिँडेपछि, पृ. ८०)
आधुनिक कालखण्डमा बाँचिरहेका हामीहरूले प्रविधिलाई सही ढङ्गले प्रयोग समेत गर्न सकेका छैनौँ । यसका अतिरिक्त मान्छे जन्मदेखि मृत्युसम्मको सुखदुःखरूपी यात्रामा नमीठा झड्का व्यहोर्न बाध्य छ । आफ्नै छोराको हृदयविदारक अन्तिम बिदाइको पीडालाई कविले यहाँ कविताका रूपमा बुनेका छन् । आफ्नो प्रिय पुत्रको असामयिक निधनले स्तब्ध कविले यसलाई एउटा संवेदनाको सूचकको रूपमा पङ्क्तिबद्ध गरेका विषयमा पाठक पनि अत्यन्त दुःखित बन्दछन् । कवि भूपिनले पुस्तकमा लेखेको भूमिकाको अंशलाई सापट लिएर भन्नुपर्दा “अनेकन मानसिक आघातहरूबाट निस्किएर शोकलाई शक्तिमा बदल्न उनलाई कविताले नै सहयोग ग¥यो । कवि उपेन्द्रले धरहराको पुनःनिर्माण गरे ।” मानिसले आफ्नो पीडालाई लुकाउन सक्दैन । भनिन्छ नि सुख लुक्छ, दुःख लुक्दैन, त्यस्तै पीडा आफैँमा सीमित राखेर आफू समाप्त हुने कि कलात्मक रूपमा अभिव्यक्त गरेर सहज बनाउने भन्ने उत्तरमा दोस्रोलाई छान्न उचित हुन्छ भन्ने प्रष्ट विचारले कवि दुःखलाई सिर्जनाको स्रोत बनाउन सफल भएका छन् ।
अन्त्यमा, कवि उपेन्द्र त्रिपाठीले जे लेखे, आफ्ना अनुभव र अनुभूतिलाई कविताको विधामा लेखे । गद्य लयमा अत्यन्त तीखो हिसाबले मानवीय संवेदनालाई छुने हिसाबले लेखे । कवि आफ्नो जीवनसाथीसँगको बातचित, आफ्ना सन्तानप्रतिको जिम्मेवारी र राज्यको चिन्ताले लछप्पै भिजाएको छ । जीवन यात्राका अनेकौँ गोरेटाहरूमा चालेका पाइला कतै ठेस नलागी अगाडि बढाउँला भन्ने मान्छे पीडाको सागरमा डुबुल्की मार्नुपर्ने स्थानमा पुग्छ । मान्छे आफूमाथि हजारौँ पीडाको बज्रपात आए पनि सहन गर्दै अगाडि बढ्ने प्राणी भएकाले हार खान नहुने विचार यहाँ प्रस्तुत भएको छ । राजनीतिका नाममा भएको अनेकौँ लुटका धन्दालाई राजनीति भन्न नसकिने स्पष्ट विचार राख्ने कवि त्रिपाठी सचेतताको कमी र योजनाविहिनता आजको प्रमुख समस्या भएको ठहर गर्दछन् । कवितासङ्ग्रह ‘अक्करे भीरको बाटो हिँडेपछि’ले जीवनलाई यात्राका रूपमा बुझ्न र नआत्तिन सुझाएको छ । एउटा जीवनानुभावबाट खारिएको स्रष्टाको कलमले पाठकलाई गम्भीर र संवेदिन तुल्याएको छ ।