प्रेमको कथा र विश्वको दर्शन छ ‘कामरेड जलजला’ उपन्यासमा

कामरेड जलजला उपन्यास २ खण्ड, ८ भाग, ७२ परिच्छेद र २७२ अङ्कमा विभाजित छ । त्यसमा करिब ५ लाख शब्द, रोयल साइजमा १,३२० पृष्ठ र करिब ५०० पात्र छन् । त्यो उपन्यासमा सम्पूर्ण विश्व, धर्ती, मानव समाज र समाजको मनोविज्ञानकोे अध्ययन, विश्लेषण र विवेचना गर्ने प्रयत्न गरिएको छ । त्यो उपन्यासले संसारका सबै महाद्वीप र महासागर, सम्पूर्ण मानव समाज र सुदूर अन्तरिक्षसम्मको परिभ्रमण गर्ने प्रयत्न गर्दछ ।

उपन्यासमा सम्पूर्ण संसार र नेपालका पनि विभिन्न स्थानको इतिहास संस्कृति र मानव जीवनको पनि अध्ययन गर्ने प्रयत्न गरिएको छ । त्यस सिलसिलामा काठमाडौ“ उपत्यका, नेपालको ढुङ्गेयुगीन सभ्यता, प्राचीन बौद्ध सभ्यता, कर्णाली प्रदेशको प्राग्ऐतिहासिक नदी र ताल, स्वयम्भुनाथ, पशुपतिनाथ र नेपालका प्राग्एतिहासिक जातिको समेतको अध्यन गर्ने प्रयत्न गरिएको छ ।

उपन्यासमा काठमाडौ“ उपत्यकाका अष्टमातृकाको विस्तृत र गहन प्रकारले चर्चा गरिएको छ । हिन्दु पुराणले उनीहरूलाई देवीको रूपमा मान्दछन् तर मूल रूपमा उनीहरू हिन्दु देवी होइनन् । उनीहरूलाई वैदिक वा हिन्दु धर्मकालभन्दा पहिलेका मातृकाका रूपमा पूजा गरिन्थ्यो । पछि उनीहरूलाई देवीकरण वा हिन्दुकरण गरिएको थियो । महिला आन्दोलनले महिलालाई पुरुषसरह अधिकार प्राप्त हुनुपर्छ भन्ने कुरामा जोड दिन्छ तर अष्टमातृकाको व्याख्याले महिलालाई पुरुषभन्दा उच्च तहमा राख्दछ ।

उपन्यासमा कैयौ“ वास्तविक पात्रको पनि चर्चा गर्ने प्रयत्न गरिएको छ । त्यस प्रकारका पात्रमा निर्मल लामा, जयगोविन्द शाह, चित्रबहादुर केसी, रश्मिराज नेपाली, लैनसिङ वाङ्देल, पारिजात, सत्यमोहन जोशी, खगुलाल गुरुङ, बालकृष्ण पोख्रेल, भक्तपुरका धनराज बज्राचार्यलगायत हुनुहुन्छ । त्यस्तै, अलमोडाको लक्ष्मी आश्रमकी सरला बहन, कुमाउ“का सुन्दरलाल बहुगुणा, मालती देवी, गढवालका चन्द्रसिंह गढवाली, तौलिहवा कुश्माका हर्के र हमाने, भैरहवाका बद्रे आलम, जीवन शर्मा, ओखरकोट पिपलटारीकी साहिली भाउजू, ओखरकोट काब्रारुखे साइली आमा, ओखरकोटका जुठे विक, थबाङका बर्मन बुढा, बागलुङका चन्द्र नरसिंह आदिको पनि चर्चा गरिएको छ । ती सबै पात्रको औपन्यासिक रूपले नै चित्रण गरिएको छ । त्यसरी ती वास्तविक पात्रको चित्रणले उपन्यासलाई यथार्थ धरातलमा स्थापित गर्न मदत पुगेको छ ।

उपन्यास प्रेमको कथा त हो नै तर त्यसमा प्रेमका रोमान्टिक प्रसङ्ग एकदम कम छन् वा छैनन् भने पनि हुन्छ । उपन्यासमा प्रेमलाई उच्च क्रान्तिकारी आदर्श र त्यसका लागि त्याग र बलिदानको प्रभावमा अगाडि बढाउने प्रयत्न गरिएको छ । त्यो उपन्यासमा यो कुरामा जोड दिइएको छ प्रेम एउटा व्यक्तिगत वा पारिवारिक विषय हो तर त्यो सामाजिक हित र क्रान्तिका उद्देश्यको मातहतमा नै हुनुपर्दछ । कम से कम कुनै क्रान्तिकारीका लागि प्रेमको अर्थ त्यही नै हुन्छ र हुनुपर्दछ भन्ने कुरामा उपन्यासले विशेष जोड दिएको छ ।

उपन्यासमा हिटलरको फासिष्ट शासन र त्यसले गरेका बर्बर अत्याचार तथा त्यसका विरुद्धको जर्मन जातिको वीरतापूर्ण सङ्घर्षबारे विस्तृत रूपले प्रकाश हालिएको छ । त्यसका साथै त्यसमा हिटलरले यहुदीमाथि गरेको नरसंहारको नीतिबारे पनि विस्तृत रूपले चर्चा गरिएको छ । त्यो उपन्यासमा यो प्रश्न पनि गम्भीर रूपले उठाइएको छ ः उच्च दार्शनिक र सांस्कृतिक पृष्ठभूमि भएको जर्मन जाति जस्तो सभ्य जातिमा हिटलर जस्तो तानाशाहको किन र कसरी उदय हुन सक्यो ?

उपन्यासमा फ्रान्सकी जोन अफ आर्कको विस्तृत रूपले चर्चा गरिएको छ । उनी मात्र १७ वर्षकी युवती थिइन् तर अङ्ग्रेजका विरुद्धको लडाइँमा उनले ठुलो साहस र वीरताको प्रदर्शन गरेकी थिइन् । अन्तमा अङ्ग्रेजले उनलाई पक्रेर जिउ“दै आगोमा जलाएर हत्या गरेका थिए । अहिले फ्रान्समा उनको ठुलो सम्मान गरिन्छ र उनका विषयमा कैयौ“ शालिक निर्माण हुनुका साथै कैयौ“ कविता, गीत, सिनेमा आदि पनि निर्माण गरिएको छ ।

विश्वको सम्पूर्ण संरचना तथा जीवन र चेतनाको उत्पत्ति मूल रूपमा भौतिक पदार्थको नै परिणाम हो तर एकपल्ट उत्पन्न भएपछि चेतनाले सम्पूर्ण समाज र इतिहासको विकासक्रम वा स्वरूपलाई पनि प्रभावित गर्दछ । अहिले समाजमा जुन दूषित र विषाक्त प्रकारको मानसिकता छ त्यसले गर्दा सम्पूर्ण समाज नै नर्क जस्तो हुन गएको छ । त्यसमा परिवर्तनका लागि अहिले विद्यमान मानसिकतामा आमूल परिवर्तन र त्यसको उच्च मानवीय स्तरमा विकास अनिवार्य छ । त्यसपछि नै एउटा स्वतन्त्र, सुखी र सुन्दर मानव समाजको निर्माण हुन सक्ने छ । उपन्यासको सम्पूर्ण विषयवस्तु र कथाप्रवाहको सारतत्त्व त्यही नै रहेको छ ।

लक्ष्मीप्रसाद देवकोटा नेपालका महान् कवि र साहित्यकार हुन् । उपन्यासमा उनको साहित्य र बहुमुखी प्रतिभामाथि गहन रूपले प्रकाश हालिएको छ । उपन्यासमा यो कुरा प्रस्ट गरिएको छ कि मूल रूपमा उनी ईश्वरवादी र अध्यात्मवादी नै थिए तर उनी अनिश्वरवाद, भौतिकवाद, द्वन्द्वात्मक भौतिकवाद र समाजवादतिर उन्मुख हु“दै गए । उनको मुनामदनबाट सुरु भएको साहित्य जीवन, प्रमिथससम्म पुग्यो । समग्रमा उनी एउटा प्रगतिशील साहित्यकार थिए ।

उपन्यासमा यो स्पष्ट गरिएको छ कि पारिजात जस्ती एउटी विकलाङ्ग महिलाको उच्च साहित्यिक तहमा विकास भएकोमा उनीप्रति सम्मान प्रकट गरिएको छ । पहिले उनको जीवनप्रतिको दृष्टिकोण निराशावादी थियो तर पछि उनको दृष्टिकोण प्रगतिशील र माक्र्सवादी–लेनिनवादी बन्दै गएको कुरा पनि उपन्यासमा देखाइएको छ ।

उपन्यासमा युरोपलाई दर्शन, क्रान्ति र बलिदानको महाद्वीपका रूपमा चित्रण गरिएको छ । फ्रान्सको राजतन्त्रविरोधी आन्दोलन र पेरिस कम्युन, जर्मनीको फासिष्ट बर्बरता र यहुदीको नरसंहार तथा तिनीहरूका विरुद्ध जर्मन जनताको वीरतापूर्ण सङ्घर्ष । रुसमा हिटलरको चौतर्फी आक्रमण र स्टालिनको कुशल रणनीतिक नेतृत्वमा फासिवादको पराजय लेनिनग्रादमा जर्मनीको नाकाबन्दी र त्यसका विरुद्ध रुसी जनताको वीरतापूर्ण सङ्घर्ष र युनानको प्राचीन दर्शन र त्यहा“का कतिपय बलिदानपूर्ण घटनाको समेत विस्तृत गहन चित्रण गरिएको छ ।

उपन्यासमा महादेव र पार्वतीको कथाको चर्चा गर्दै लेखिएको छ ः दक्ष प्रजापतिको यज्ञमा आत्मदाह गरेर सतिको मृत्यु भयो तर पछि उनी पार्वतीको रूपमा जन्मिन्छिन् र पुनः उनको विवाह महादेवस“ग हुन्छ । प्रकारान्तरले त्यही प्रकारको कथा कामरेड जलजला उपन्यासमा पनि देखा पर्न गएको छ ।

युनानको जोलोङ्गोको नाच विशेष रूपले प्रसिद्ध छ । त्यहा दुस्मनरूबाट आफ्ना रक्षा गर्नको लागि महिलाले पहिले आफ्ना बच्चालाई पहाडबाट फालिदिन्छन् र पछि नाचगान गर्दै उनीहरूले पनि एक एक गरेर पहाडको शिखरबाट फङ्गालेर आत्महत्या गर्दछन्, त्यसैलाई जोलोङ्गोको नाच भनिन्छ । त्यो स्थानमा अहिले महिलाको बलिदानको प्रतीकका रूपमा स्मारक पनि बनेका छन् ।

उपन्यासमा यो विचार प्रकट गरिएको छ कि कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीका पुरातात्त्विक र ऐतिहासिक बौद्ध अवशेष वा स्मारकलाई सम्मिलित रूप दिएर एउटा बौद्ध पुरातात्त्विक सहरको निर्माण गरिएमा त्यो अन्तर्राष्ट्रिय महत्त्वको नै बौद्ध पुरातात्विक सहर हुन सक्दथ्यो । त्यसबाट नेपालको प्राचीन सभ्यता विश्वसमक्ष प्रस्तुत हुनुका साथै त्यसले नेपालको पर्यटन उद्योगमा पनि एउटा नया“ र उच्च आयाम थप्ने छ ।

उपन्यासमा प्युठानको गौमुखी, ओखरकोट, डियाल्नाचौर, स्नाथान आदि स्थानबारे विस्तृत रूपले प्रकाश हालिएको छ । त्यसमा स्नाथानको चैत्रको नवमीमा कालिपाठी बलि चढाउने र जुठो नबारी तिनीहरूको पोलेको मासु लुछाचुडी गरेर खाने चलनको चर्चा गर्दै लेखिएको छ ः कही“ त्यो चार्ड प्राचीन जङ्गली युग वा ढुङ्गेयुगीन सभ्यताको अवशेष त होइन ? त्यसबारे गहन ऐतिहासिक वा मानवशास्त्रीय अध्ययनको आवश्यकता छ ।

उपन्यासमा थारू, मगर र खस तीनओटै जातिलाई प्राग्ऐतिहासिक बताइएको छ र उनीहरूको इतिहास र संस्कृतिसमेतको विस्तृत रूपले अध्ययन गर्ने प्रयत्न गरिएको छ ।

उपन्यासमा नवलपुर डन्डा र दाङदेउखुरीको ढुङ्गेयुगीन सभ्यतामाथि विस्तृत रूपले प्रकाश हाल्ने प्रयत्न गरिएको छ । त्यसका साथै दाङका थारू जाति ढुङ्गेयुगीन मानवका सन्तान त होइनन् ? त्यो सम्भावनातिर पनि उपन्यासले प्रश्न उठाएको छ । त्यो उपन्यासमा पाल्पाको तिनाउ नदीको छेउको जङ्गलमा प्राप्त रामापिथेकस प्राणीको दा“तको अवशेष र त्यसको इतिहासको पनि विस्तृत रूपले चर्चा गरिएको छ ।

यो उपन्यासमा चितवनलाई नेपालको छयहत्तरौँ जिल्लाको रूपमा व्याख्या गरिएको छ । त्यहा“ नेपालका धेरै जिल्लाका मान्छेहरू आएर बसेको हुनाले नेपालका अन्य जिल्लाभन्दा त्यहा“ बेग्लै प्रकारको चेतनाको विकास भएको र जागृति आएको बताइएको छ ।

सुनन्दा पनि कामरेड जलजला उपन्यासकी एउटा मुख्य पात्र हुन् । उनी नभइकन उपन्यासको गति अगाडि बढ्न सक्दैन । उनी कुमाउ“की छोरी, दारमाको शौका जनजातिकी युवती र दिल्ली जवाहरलाल नेहरू विश्वविद्यालयकी इतिहासकी एउटा शोधकर्ता पनि हुन् । उनी गान्धीवादी थिइन् । उनी जलजलालाई खोज्न नेपाल आउने सिलसिलामा नेपालको जेलमा पर्दछिन् र गान्धीवादीबाट माक्र्सवादी–लेनिनवादी बन्दछिन् । उनमा क्रमशः जलजलाका सबै गुण समावेश हु“दै जान्छन् र अन्तमा उनको सम्पूर्ण व्यक्तित्व जलजलाको जस्तै हुन पुग्दछ र उनी जलजलाको रूपमा रूपान्तरित हुन्छिन् ।

उपन्यासमा कर्णाली प्रदेशको इतिहास र संस्कृतिमाथि गहन रूपले प्रकाश हालिएको छ । त्यो उपन्यासमा हिमालय बन्नुभन्दाको पहिलेको तेथिस सागरबाट बग्दै आएको प्राग्ऐतिहासिक कर्णाली नदी र तेथिस महासागरको अवशेषमा रहेको प्राग्ऐतिहासिक महत्त्वपूर्ण रारा ताल तथा कर्णाली प्रदेशका देउता मष्ट, मतवाली क्षेत्री, देउकी प्रथा र देउडा नाच, थारूको झुम्रा नृत्य आदिको पनि चर्चा गरिएको छ । त्यो उपन्यासमा त्यहा“का विभिन्न जाति र जनजातिसमेतको विस्तृत रूपले परिचय दिने प्रयत्न गरिएको छ ।

उपन्यासमा गढवालका चन्द्रसिंह गढवालीको पनि चर्चा गरिएको छ । उनी पठानकोटको प्रसिद्ध सिपाही विद्रोहका सेनानी थिए । जेलबाट मुक्त भएपछि उनी भारतीय कम्युनिस्ट पार्टीमा सामेल भए । कम्युनिस्ट पार्टीमा विभाजन भएपछि उनी सिपिआईमा लागे । पछि उनी निराश भए र उनले पलायनको बाटो समाते । उनी क्रान्तिकारी भए पनि सैद्धान्तिक स्तर निम्न भएको र पार्टी जीवनमा अभ्यस्त नभएकाले उनले पलायनको बाटो समातेका थिए ।

उपन्यासमा कामरेड गढवालीको पनि चर्चा गरिएको छ । कामरेड गढवाली गढवालका क्रान्तिकारी कम्युनिस्ट नेता थिए । भारतीय कम्युनिस्ट पार्टीमा विभाजन भएपछि उनी सिपिएममा सामेल भए र पछि नक्सलवादी आन्दोलनमा सामेल भए । कामरेड चारु मजुमदारको मृत्युपछि नक्सलवादी आन्दोलन पनि कैयौ“ टुक्रामा विभाजित भयो । त्यसपछि पनि उनको क्रान्तिकारी स्प्रिटमा कमी आएन तर उनी कुनै सङ्गठनमा आबद्ध नभइकन जनताको सेवामा नै आफ्नो सम्पूर्ण जीवन समर्पण गरे । उपन्यासमा यो देखाउने प्रयत्न गरिएको छ कि कोही जतिसुकै क्रान्तिकारी भए पनि सङ्गठनमा आबद्ध नभइकन कसैले एक्लै क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन सक्दैन ।

विद्या थबाङकी एउटी जनजाति युवती थिइन् । जलजलाले थबाङ छाडेर आएपछि उनी पनि उनीसित नै स“गै आएकी थिइन् । पछि उनले सुनन्दासित स“गै बसेर दिल्लीको विश्वविद्यालयमा पढ्न थालेकी थिइन् । सुन्नदासित सँगै जलजलालाई खोज्न नेपाल आएको बेलामा उनको एउटा सिडिीओकी पत्नीसित सम्पर्क भयो र उनको प्रभावमा परेर उनले कम्युनिस्ट पार्टी र जलजला दुवैलाई घृणा गर्न थालिन् । जलजलाको मृत्युपछि उनलाई पश्चाताप भयो र पुनः जलजलालाई आदर गर्न थालिन् । त्यसरी उनले जलजला र कम्युनिस्ट पार्टीलाई धेरै माया गरे पनि उनको सैद्धान्तिक स्तर निम्न भएको हुनाले उनी बारम्बार ढुलमुल हुने गरेकी थिइन् ।

उपन्यासमा कुमाउ“, अलमोडा, कौशासिनकी सरला बहनको जीवनबारे विस्तृत रूपले चर्चा गरिएको छ । उनी एउटी विदेशी महिला थिइन् तर उनले आफ्ना सम्पूर्ण जीवन कुमाउ“का ग्रामीण महिलाको सेवामा बिताइन् । उनी गान्धीवादी थिइन् । उनको सेवापरायण जीवनबारे उपन्यासमा धेरै नै प्रशंसा गरिएको छ ।

उपन्यासमा आमाको आफ्ना सन्तानप्रतिको मायालाई अत्यन्त उच्च स्थानमा राखिएको छ । आमाहरूले आफ्ना सन्तानलाई सबै प्रकारका दुःखकष्ट उठाउन, त्याग र बलिदान गर्न वा कडाभन्दा कडा प्रतिकूल परिस्थितिको सामना गर्न पनि तयार हुन्छन् । उनीहरूले ती सबै कुरा निःवार्थ भावले गर्दछन् र बदलामा केही चाहन्नन् । त्यसैले आमाको माया विश्वको नै सर्वश्रेष्ठ मानवीय गुण हो । उपन्यासले यो कुरामा जोड दिन्छ कि आमाको त्यस प्रकारको मायालाई विश्वव्यापी बनाउनुपर्दछ । हामीले सम्पूर्ण मानव जाति र विश्वलाई आमाले आफ्ना सन्तानलाई गरे जस्तो माया गर्न सक्नुपर्छ र त्यसरी सम्पूर्ण विश्वलाई आमामय बनाउने प्रयत्न गर्नुपर्दछ । त्यसपछि नै विश्वमा परम शान्ति र सुखको अवस्था आउने छ । त्यो कल्पना मात्र होइन, सम्पूर्ण मानव जातिको विकास त्यही दिशामा भइरहेको छ र हुनु पनि पर्दछ भन्ने कुरामा उपन्यासले जोड दिएको छ ।

उपन्यासमा नारी शक्ति वा उनीहरूमा भएको अद्भुत क्षमतामाथि दार्शनिक रूपले नै विस्तृत र गहन चर्चा गरिएको छ । उनीहरूको त्यस प्रकारको शक्तिमाथि समाजले सर्वत्र र सधैँ अङ्कुश लगाउने प्रयत्न गर्दै आएको छ । पुरुषहरू जन्मकालदेखि नै यथास्तिथिवादी हुन्छन् तर उमेर अलिकति छिप्पिनेबित्तिकै उनीहरूको सोचाइ गतिशील हुन्छ किनभने उनीहरूले आफ्नो जन्मेको घर उनीहरूले सानैदेखि आफू जन्मेको घरपरिवार छाडेर अन्तै जाने कुरा सोच्न थाल्छन् । महिलाहरूको त्यो शक्तिमा अङ्कुश नलगाइएको भए सायद संसारमा अद्भुत चमत्कार हुन्थ्यो ।

उपन्यासमा ‘कर्म गर, फलको आशा नगर’ भन्ने गीताको भनाइमा विशेष जोड दिइएको छ । त्यो निष्कर्ष सेवाको भावना हो तर गीताले कुनै काम गरेपछि फलको आशा नगरिकन सबै फल भगवानमा अर्पण गर्नुपर्ने कुरामा जोड दिन्छ तर प्रस्तुत उपन्यासले त्यो भनाइलाई लौकिक अर्थमा व्याख्या गर्दछ र आफ्नो कर्मको फलको कुनै आशा नगरिकन सबै फल पार्टी र क्रान्ति तथा जनता, समाज र विश्वभरको मानव जातिमा समर्पण गर्ने कुरामा जोड दिन्छ । कुनै व्यक्तिमा जति बढी मात्रामा त्यस प्रकारको निःस्वार्थ भावनाको विकास हँुदै जान्छ, त्यति नै बढी मात्रामा ऊ देशभक्त क्रान्तिकारी कम्युनिस्ट पनि बन्दै जान सक्ने छ ।

उपन्यासमा विश्व कम्युनिस्ट आन्दोलनमा भएको पतनको विस्तृत रूपले समीक्षा गरिएको छ र त्यसको मुख्य कारण कम्युनिस्टको सैद्धान्तिक चिन्तन, विश्वदृष्टिकोण र चरित्रमा आएको ह्रासलाई नै बताइएको छ र सैद्धान्तिक पुनरुत्थानबाट नै त्यो अवस्थामा परिवर्तन हुन सक्ने कुरा बताइएको छ ।

प्रस्तुत उपन्यासले विद्यमान जाति वा राष्ट्रका सीमाभन्दा धेरै माथि उठेर मानव मात्रका बिचमा प्रेमको भावनामा जोड दिन्छ । संसारमा अन्य राष्ट्रमाथि आक्रमण गर्ने साम्राज्यवादी प्रचलन रह“दासम्म राष्ट्रियता वा देशभक्तिको भावनाको सकारात्मक महत्त्व वा आवश्यकता रहन्छ तर अन्ततः सम्पूर्ण मानवका बिचको प्रेम नै सच्चा मानवीय भावना हो र उपन्यासले त्यस प्रकारको भावनालाई समेट्ने प्रयत्न गरेको छ । त्यही विश्व बन्धुत्व वा सर्वहारा अन्तर्राष्ट्रवाद पनि हो ।

सङ्क्षेपमा उपन्यास प्रेमको कथा र विश्वको दर्शन हो । पूरै उपन्यास त्यही मेरुदण्डका वरिपरि घुम्दछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू