अस्ट्रेलिया — तलब बढाउन माग गर्दै नर्सले अस्ट्रेलियाको ठूलो सहर सिड्नीमा आन्दोलन गरेका छन् । न्यु साउथ वेल्स राज्यका दसौं हजार नर्स र मिडवाईफ बुधबार काम छाडेर आन्दोलनमा उत्रिएका हुन् ।
नर्सिङ तथा मिडवाईफ एसोसिएसनले बुधबार बिहान ७ बजेदेखि आन्दोलन सुरु गरेका हुन् । २४ घण्टे आन्दोलनमा उत्रिएका उनीहरुको कारण शल्यक्रिया लगायतका महत्वपूर्ण स्वास्थ्य सेवा अवरुद्ध भएको समाचारमाध्यमले जनाएका छन् ।
आन्दोलनरत नर्सहरुले सुरक्षित काम गर्ने वातावरण बन्नुपर्ने, लिङ्गको आधारमा हुने तलबको भेद्भाव अन्त्य हुनुपर्ने लगायतका माग समेत राखेका छन् । कम तलबलगायत समस्याका कारण पुराना नर्सले पेसा नै छाड्नुपर्ने अवस्था आएको भन्दै सरकारको आलोचना गरेका छन् । न्यु साउथ वेल्स सरकारले राखेको ३ प्रतिशत तलब वृद्धिको प्रस्ताव आन्दोलनरत नर्सहरुले अस्वीकार गरेको स्थानीय समाचारमा उल्लेख गरिएको छ ।
अस्ट्रेलियामा नर्सले राम्रो सेवा सुविधा माग गर्दै पटक-पटक आन्दोलन गर्दै आएका छन् । न्यु साउथ वेल्समा नर्सिङ पेसामा रहेकाले आफूहरुलाई १५ प्रतिशत तलब वृद्धिको माग गरेका हुन् । पटक-पटक भएको छलफलका क्रममा दिन भनिएको सुविधा उपलब्ध नभएपछि आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन् ।