अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको फौजदारी सजायको फैसला न्यूयोर्कको एक अदालतले फेरि स्थगित गरेको छ ।
न्यायाधीशले कम्तीमा १९ नोभेम्बरसम्मका लागि सबै निर्णय स्थगित गरेका हुन् । ट्रम्पका वकिलहरू र अभियोजकहरू दुवैले म्याद थप एक हप्ता ढिलाइ गर्न अनुरोध गरेपछि न्यायधीसले स्वीकार गरेका बीबीसीले जनाएको छ ।
सन् २०१६ को चुनावअघि एक महिलासँगको शारीरिक सम्बन्धलाई लुकाउन ट्रम्पले व्यापारिक रेकर्डहरू हेरफेर गरेको जुरीले पत्ता लगाएपछि उनलाई गएको मे महिनामा ३४ वटा फौजदारी अभियोगमा दोषी ठहर गरिएको थियो ।
चुनावअघिदेखि नै ट्रम्पका वकिलहरूले उच्च अदालतको निर्णयका आधारमा मुद्दा खारेज गर्न माग गरेका थिए तर अभियोजकहरूले अस्वीकार गर्दै आएका थिए । अब उनको मुद्दा खारेज भएमा ट्रम्पलाई कुनै सजाय हुने छैन ।