चितवन – दोस्रो भरतपुर–१९ साँस्कृतिक, व्यापारिक तथा पर्यटन महोत्सव २०८१ आइतबारदेखि सुरु भएको छ । महोत्सवको उद्घाटन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गरेकी हुन् ।
महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ ले सुस्ताउँदै गएको पर्यटनलाई उकास्न सहयोग गरको बताइन् । पर्यटन व्यवसायमा देखिएको निराशालाई आशामा परिणत गर्ने उद्देश्यले भ्रमण वर्ष आयोजना गरेसँगै यस बीचमा आर्थिक गतिविधि चलायमान भएको उनको भनाइ छ ।
भरतपुरमा पूर्वाधार विकासले मात्र पुग्दैन भनी यसलाई पर्यटकीय गन्तव्यका रुपमा देश विदेशमा परिचित गराउन भ्रमण वर्ष आयोजना गरिएको उनले बताइन् । भरतपुर भ्रमण वर्षले सिङ्गो चितवनको पर्यटन व्यवसायलाई नै टेवा पुगेको उनले उल्लेख गरिन् ।महानगरमा भ्रमण वर्षको अवसरमा विभिन्न संघ, संस्था र निकायको समवन्य तथा आयोजनामा धेरै मेला, महोत्सव तथा सभा सम्मेलन भएको उनको भनाइ थियो ।
कार्यक्रममा भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, वडा नम्बर १२ का अध्यक्ष लेखराज पन्त, वडा नम्बर १९ का अध्यक्ष प्रकाश तमाङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
दोस्रो संस्करणको महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका सय बढी स्टलहरु रहेका छन् । भरतपुर १९ शारदानगर, हेल्थपोष्टचौरमा सुरु भएको महोत्सव मंसिर ९ गतेसम्म चल्नेछ ।
आर्थिक मन्दी र आमजनतामा भएको निराशालाई हटाउन निजी क्षेत्रको सहकार्य र भरतपुर महानगरको आयोजना गरिएको भरतपुर भ्रमण वर्ष २०२४ उत्सवै उत्सवको वर्ष बनेको छ । यहाँ आउने पर्यटकलाई लक्षित गरी होटल तथा रेष्टुरेष्टहरुले ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् । भरतपुरमा प्याराग्लाईडिङ, बोटिङ, जंगल सफारीदेखि होमस्टेसम्मको मज्जा लिन सकिन्छ । महानगरपालिकाले मुख्य ७ पर्यटकीय गन्तव्यसहित विभिन्न ४० वटा गन्तव्यको पहिचान पनि गरिसकेको छ ।