चितवन – फिल्म ‘पूर्णबहादुरको सारंगी’ को मूलकथा उपन्यास ‘संग्रामपुर’ सँग मिलेको यसका लेखकले दाबी गरेका छन्। उपन्यासका लेखक शिवशंकर बस्यालले फेसबुकमा स्टाटस लेख्दै थुप्रै प्रसंगहरू मिलेको पाएको दाबी गरेका हुन्।
उनले संग्रामपुरमा रूपमान र समीर मूलपात्र रहेको र फिल्ममा पनि पूर्णबहादुर र कमल दुई मात्र मूलपात्र रहेको, पूर्णबहादुरको स्त्री बिछोडको रहस्यमयी प्रसंग संग्रामपुरमा रूपमानको स्त्री बिछोडको प्रसंगजस्तै रहस्यमयी रहेको, छोराको पालन पोषणमा दिलोज्यान मरिमेटने पूर्णबहादुरको शैली रूपमानसँग मिल्दो रहेको, आमाको रहस्यमय कथा पूर्णबहादुरका अगाडि कमलले सोधेजस्तै पटकपटक रूपमानलाई समीरले निरन्तर सोधिरहने प्रसंग मिल्दो रहेको दाबी गरेका छन्।
पूर्णबहादुरको कमल पात्रलाई प्रध्यानाध्यापकले गर्ने व्यवहार र उपन्यासको पात्रलाई गर्ने व्यवहारको शैली उस्तै रहनु, फिल्मको पात्र कमल पनि उपन्यासको समीर जस्तै टप विद्यार्थी हुनु, त्यही टप भएको खबर संग्रामपुरको समीरकै शैलीमा दौडिँदै पूर्णबहादुरको सारंगीमा कमलले उही भावमा बाबुलाई खबर बताउनु, उपन्यासको समीरले जस्तै फिल्मको पात्र कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु जस्ता कुराहरू मिलेको उपन्यासका लेखक बस्यालको दाबी छ।
बुबालाई आर्थिक जोहो गर्न कठिन हुन्छ भनेर उपन्यासको समीरले मेडिकल पढ्न नखोजेजस्तै कमल गन्धर्वले पनि यही भावले मेडिकल पढ्न जान नखोज्नु, रुपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गए जस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु जस्ता कुराहरू पनि मिलेको बस्यालले दाबी गरेका छन्।
फिल्मको परिवेश पनि सूक्ष्म ढंगले उपन्यासबाट प्रभावित भएको उनको आरोप छ। उनी लेख्छन्, ‘कुनै लोभ–लालच, प्रपञ्चले मैले यसो भनिरहेको छैन। एउटा स्रष्टाको जन्मदाताको हैसियतले रुपरंग मिल्दा बोल्ने नैतिक दायित्व मेरो पनि हो।’ बस्यालले फिल्मलाई अझ सफलताको शुभकामना समेत दिएका छन्।
लेखक बस्यालको दाबीप्रति फिल्मका निर्माता विनोद पौडेलले असहमति जनाएका छन्। उनले फेसबुकमा स्टाटस लेख्दै समाजको कथा भएकाले संयोगवश केही मिल्न गएको हुनसक्ने भए पनि नियोजित नभएको उल्लेख गरेका छन्। ‘हाम्रो कथा साधारण छ। सायद हल्का फुल्का मिल्न सक्ला, किनकि यो कथा यही समाजको हो तर यो चोरीको आरोप नलागाम हो’, उनले लेखेका छन्- ‘यदि त्यस्तो लाग्छ भने प्रतिलिपि ऐनमा जानूस्।’
‘‘पूर्णबहादुरको सारंगी’ लाई सरोज पौडेलले निर्देशन गरेका हुन् भने महेश दवाडीले पटकथा तथा संवाद लेखेका हुन्।