मानव तस्करीका आरोपित सांसद एमालेबाट निलम्बित

एटुजेड समाचार

काठमाडौं – मानव तस्करी मुद्दामा जोडिएका कोसी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेशसभा सदस्य लीलावल्लभ अधिकारीलाई पार्टीबाट निलम्बन गरिएको छ । शनिबार च्यासलमा बसेको नेकपा (एमाले) सचिवालय बैठकबाट हालका निम्ति उनलाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय सदर गरिएको नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

“…त्यो प्रश्नको कानुनी निरूपण नभएसम्मका लागि कोसी प्रदेश कमिटीले उहाँलाई पार्टीका सबै जिम्मेवारीहरू र पार्टी सदस्यताबाट समेत मुक्त गर्ने जुन निर्णय गरेको छ, त्यो निर्णयलाई अनुमोदन गर्दै उहाँलाई सबैखाले जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ,” सचिवालय बैठकका निर्णय सुनाउँदै ज्ञवालीले भने ।

प्रदेश मन्त्रीको विदेश भ्रमण पनि संघीय मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्नेमा उनी आफूखुसी जापान गएको पाइएको थियो । उनीसँगै तीनजना सोही मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलेको थियो ।

संघीय र प्रदेश सरकारको अनुमतिबेगरै उनी यही कात्तिक १३ गते जापान गएका थिए । टोकियो विमानस्थलमा उनलाई ४८ घण्टा राखेर फिर्ता गरेको पाइएको थियो । नेपाल फर्कनासाथ उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू