चितवन – नारायणगढ मुग्लिन सडकको सत्रकिलोमा भएको दुर्घटनामा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । आज (शुक्रबार) बिहान ३ बजे मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा गोरखाको आरुघाट गाउँपालिका १ मान्बुका ४२ वर्षिय राज बहादुर गुरुङ, माईक्रोबस चालक चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ का ४० वर्षिय अनोज अधिकारी, विनय त्रिवेणी गाउँपालिका ४ स्थित बगैँचाका ३५ वर्षिय सन्तोष भुषाल, सोही ठाउँकी ३३ वर्षिय सविना भुषाल र भारत घर भई पोखरामा किसाना पसल गर्दै आएका ३६ वर्षिय राजकुमार साह रहेका छन् ।
मृतक मध्ये सबै माईक्रोबसमा सवार यात्रु रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सो दुर्घटनामा एकजना घाइते गम्भीर अवस्थामा उपचाररत छन् । गम्भीर घाइते एकजनाको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अन्य चार जना घाईते भने उपचारपछि डिसचार्ज भएको प्रहरीले जानकारी दिएको छ ।