चितवन – भरतपुर कारागारमा रहेका कैदी र बन्दीले यस वर्षको दशैँ, तिहार र छठ पर्व कारागारभित्रै मनाएका छन् । विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदी र बन्दीले कारागारभित्रै भए पनि दशैँ, तिहार र छठ पर्व मनाउन पाउँदा खुसी नै भएको बताएका छन्् ।
कारागारमा जेल सजाय भोगिरहेका एक कैदीले खुसी हुँदै भने, ‘दशैँ र तिहारमा कारागारमै टीका लगाउन पाउँदा घरमै बसेर दशैँ मनाए जस्तो भयो । कारागारभित्रको अवस्था पनि दशैँमय बनेको थियो । कारागार प्रशासनले कैदी र बन्दीलाई आफन्तको हातबाट टीका लगाउन पाउने व्यवस्था मिलाएको थियो ।’
दशैँ र तिहारमा कैदी र बन्दीको निधार खाली नहोस् भन्ने भावनाले कैदी र बन्दीका आफन्त तथा नातेदारले कडा सुरक्षाबीच टीका लगाइदिने व्यवस्था मिलाइएको कारागारका प्रमुख कमलप्रसाद आचार्यले जानकारी दिए । उनले भने, ‘दशैं खर्च भनेर प्रत्येकलाई तीन सय रुपैयाँ दिइएको थियो ।’ अरु बेलाभन्दा चाडबाडमा कैदी र बन्दीसँग भेटघाटमा सहज हुने गरी व्यवस्था मिलाइएको आचार्यले बताए ।
भरतपुर कारागार प्रशासनका अनुसार दशैँमा सबैजसो कैदी र बन्दीले एवम् तिहारमा ४ सय ६३ जनाले टीका लगाएका थिए ।
महिला कैदी र बन्दीहरुलाई छठ पर्वलाई लक्षित गरी कारागारभित्र नै खाल्डो खनी त्यसमा पानी भरेर विधिपूर्वक छठ पर्व मनाउने व्यवस्था मिलाएको थियो । केही महिलाले त्यही खाल्डोमा चोबलिएर छठ पूजा सम्पन्न गरेको कारागार प्रमुख आचार्यले बताए ।
भरतपुर कारागारमा अहिले ७ सय ९९ जना कैदीबन्दी रहेका छन् । जसमा ७ सय ५१ जना पुरुष र ४८ जना महिला छन् । कारागारमा कैदीबन्दीका सन्तान २ जना बालिका र १ जना बालक पनि छन् ।
जिल्ला कारागार भरतपुरमा चितवन, नवलपुर, मकवानपुर, धादिङ र गोरखाबाट आएका कैदी र बन्दी छन् ।