पटका पड्किए, रोक्न सकिएन : प्रजिअ पौडेल

एटुजेड समाचार

चितवन – चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले तिहारमा पटकाको अवैध बिक्रीलाई रोक्न नसकिएको स्वीकार गरेका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै प्रजिअ पौडेलले भर्खरै मात्र सरुवा भई चितवन आएको हुँदा पहिले नै जिल्लामा भित्रिइसकेका पटका पड्किनबाट रोक्न नसकेको बताएका हुन् ।

‘पटका नियन्त्रणमा चितवनमात्र नभई काठमाडौँ, कास्कीलगायत केही जिल्लाहरु असफल देखिए’ उनले भने, ‘धेरै जिल्लाहरुमा पटका पड्किए । हामीले पनि रोक्न सकेनौँ ।’ प्रजिअ पौडेलले पत्रकारहरुको सुझाव ग्रहण गर्दै आफ्नो पहिलो कर्तव्य नागरिकलाई प्रभावकारी सेवा प्रवाह र कानुनको पालना भएको बताए । पटका नियन्त्रणका लागि बिस्फोटक पदार्थ भित्रिन नदिनु नै एकमात्र उपाय भएको उनको भनाइ थियो ।

अन्तरक्रियामा उपस्थित जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी (प्रहरी उपरीक्षक) गौतम मिश्रले साउन महिनादेखि नै तिहारलाई लक्षित गरेर जिल्लामा पटका भित्रिने गरेको पाइएको जानकारी दिँदै भने, ‘पटका नियन्त्रणका लागि यसको बिक्री वितरण नै रोक्नुपर्छ । हामीले बिस्फोटक पदार्थ ओसारपसारको कसुरमा पाँच जनामाथि मुद्दा चलाइरहेका छौँ । केही मात्रामा पटका जफत पनि भएको छ ।’

अन्तरक्रियामा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारी, पूर्वअध्यक्ष महेन्द्र श्रेष्ठ, ए टु जेड समाचार डट कमका प्रधानसम्पादक सूर्यप्रकाश कँडेललगायतले प्रजिअ पौडेललाई आवश्यक सुझाव दिएका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू