काठमाडौं – नेपाल चेम्बर अफ कमर्स र चीनको युनान प्रान्तस्थित फेडेरेसन अफ इन्डस्ट्री एण्ड कमर्ससँग सम्वन्धित उद्योगी व्यवसायीबीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ । चेम्बर अध्यक्ष कमलेसकुमार अग्रवालसहितका पदाधिकारीसमक्ष युनान प्रान्तमा विभिन्न व्यावसायिक क्ष्त्रको नेतृत्व गर्दै आएका उद्यमी व्यवसायीहरुले लगानी र व्यापार सहजीकरणबारे छलफल गरेका थिए ।
उद्योग, व्यापार र सेवा क्षेत्रमा सम्भाव्य लगानीका क्षेत्रहरुको पहिचान र दुईपक्षीय हित प्रवर्धन गर्न सकिने खालको प्रस्ताव ल्याउन अध्यक्ष अग्रवालले चिनिया व्यवसायी समक्ष आग्रह गरेका थिए । पूर्वाधार निर्माण, रियल स्टेट, व्यापार वृद्धि, चिया, औद्योगिक विकास एवं सांस्कृतिक क्षेत्रमा दुई पक्षीय लगानी र व्यापार साझेदारीका विभिन्न विकल्पबारे दुई देशका निजी क्षेत्रबीच महत्वपूर्ण छलफल भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
चेम्बर अध्यक्ष अग्रवालले नेपालमा लगानीका लागि चिनिया“ व्यवसायीलाई आग्रह गरे । उनले नेपालमा लगानीको वातावरण एवं प्रतफल सुनिश्चितताका लागि चेम्बरले पहल गर्ने प्रतिवद्धता जनाए ।
अध्यक्ष अग्रवालले भने, ‘नेपालमा विभिन्न क्षेत्रमा लगानीका लागि चिनियाँ लगानीकर्ताहरु समक्ष आग्रह गर्दछु, ।’ यहाँ हुने लगानीको प्रतिफल सुनिश्चितताका लागि नेपाल चेम्बर अफ कमर्सले सहजीकरण गर्ने अध्यक्ष अग्रवालको भनाइ थियो । यसका लागि बी टु बी भ्रमण र सहकार्यलाई बढाउनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । नेपालमा राजनीतिक स्थिरता, कानूनी पाटोमा सुधार हुदै गएकाले लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको समेत उनले लगानीकर्ताहरुलाई अवगत गराए ।


