सरकार ढाल्नुपर्छ भन्ने मनसाय छैन : अध्यक्ष प्रचण्ड
काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सय दिनमा सरकार असफल भए पनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन् ।
अध्यक्ष दाहालले मंगलबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै सरकार ढाल्नतर्फ लाग्दा फेरि जनतामा हैरानी हुने बताएका हुन् । ‘फेरि सरकार त बनेकै छ । मैले यो कुरा पनि भनेको छु की सरकार राष्ट्र र जनताप्रति अझ गम्भीर र संवेदनशील होस् । र सकारात्मक काम गरेर जाओस् भन्ने छ । यो सरकार अहिले नै ढाल्नुपर्छ भन्ने माओवादी केन्द्रको र मेरो कुनै मनसाय छैन । किनभने त्यसो गरेर फेरि जनतालाई हैरान पार्ने भन्दा यही सरकारले राम्रो गर्दिए हुन्थ्यो भन्ने छ’ अध्यक्ष दाहालले भने ।
उनले सरकार निर्माणको प्रक्रिया नै सही विधि र प्रक्रियाबाट नभएको गुनासो गर्दै सरकार निर्माणको उद्देश्य नै गलत रहेको जिकिर गरे । अध्यक्ष दाहालले राष्ट्र र जनताप्रति अझ गम्भीर र संवेदनशील बन्न सरकारलाई सुझाव दिँदै जनताको पक्षमा सकारात्मक काम गर्न आग्रह गरे ।
तपाइँको प्रतिक्रिया